एसिया कपमा नेपालले भारतसँग खेल्दै

28

एसिया कपको पाँचौं तथा नेपाल आफ्नो दोस्रो खेलमा सोमबार भारतसँग खेल्दैछ। श्रीलंकाको केन्डीस्थित पल्लेकेले इन्टरनेसनल स्टेडियममा नेपाल भारत खेल खेल्ने कार्यतालिका रहेको छ। नेपाली समय अनुसार ३:१५ बाट खेल सुरु हुने छ।

क्रिकेट इतिहास भारतको सिनियर टोलीसँग पहिलो पटक प्रतिस्पर्धा गर्न लागेको नेपाल नयाँ इतिहास बनाउने लक्ष्यमा मैदानमा उत्रिँदै छ। दुबै टिमका लागि एसिया कपमा अघिल्लो चरण प्रवेश गर्न एक अर्कालाई पराजित गर्नु पर्ने अवस्था रहैको छ।

भारत पहिलो खेलमा पाकिस्तानसँग वर्षाका कारण अंक बाँड्न पुग्दा नेपाल भने २ सय ३८ रनको फराकिलो अन्तरले पराजित भएको थियो।

सात पटकको च्याम्पियन विरुद्ध इतिहास रच्ने अवसर

एसिया कपको सर्वाधिक सफल टोली भारतले सात पटक एसिया कपको उपाधि जितेको छ। जसमा ६ एकदिवसीय खेल र एक टी-२० फर्म्याटमा भएका प्रतियोगितामा भारतले उपाधि जितेको हाे। नेपाल भने पहिलो पटक एसिया कप खेल्न लागेको हो। सोमबार भारतलाई पराजित गरेको खण्डमा नेपालले इतिहास बनाउने छ भने भारत समूह चरणबाटै बाहिरिने छ।

भारतका लागि शुभमन टप स्कोरर रहँदा नेपालका कुशल

२०२३ मा एकदिवसीय क्रिकेटमा भारतका लागि शुभमन गिल सर्वाधिक रन बनाउने खेलाडी हुन्। गिलले १२ खेलमा ७६० रन बनाएका छन्। त्यस्तै, कुलदीप यादव टप विकेट लिने खेलाडी हुन्। उनले ११ खेलमा २२ विकेट लिएका छन्।

त्यस्तै, नेपालका लागि कुशल भुर्तेल टप स्कोरर हुन्। उनले २० खेलमा ५५२ रन बनाएका छन्। त्यस्तै, नेपालबाट सर्वाधिक धेरै विकेट सन्दीप लामिछानेले लिएका छन्। उनले २० खेलमा ४३ विकेट लिएका छन्।

वर्षाको सम्भावना ८९ प्रतिशत

पल्लेकेले स्टेडियममा आज खेल हुने समयमा बादलले ढाक्ने सम्भावना रहेको छ भने वर्षाको सम्भावना समेत अधिक छ। विभिन्न वेदर फोरकास्टलाई आधार मान्दा ८९ प्रतिशत वर्षाको सम्भावना रहेको छ। तापक्रम २१ देखि २७ डिग्री सेल्सियससम्म रहने सम्भावना रहेको छ।

यदि वर्षाले खेल प्रभावित भएर रद्द भएमा भारत शीर्ष चारमा पुग्ने छ। यसअघि पाकिस्तानसँग पनि वर्षाका कारण १ अंक लिएको भारत नेपालबाट समेत १ अंक लिन सफल हुने छ। जसका कारण दुई अंकका साथ भारतले शीर्ष चारमा स्थान बनाउँदा नेपाल प्रतियोगिताबाट बाहिरिने छ।

बुमराहले नेपाल विरुद्धको खेल गुमाउने

तीव्र बलर जसप्रित बुमराहले एसिया कपमा नेपाल विरुद्ध आजको खेल गुमाउँदै छन्। बिसिसिआई स्रोतलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यामले जनाएअनुसार बुमराह पारिवारिक कारण श्रीलंकाबाट मुम्मबई फर्किएका छन्। यद्यपि उनी भारत शीर्ष चारमा पुगेमा श्रीलंका फर्किने छन्।

पिचको अवस्था

पल्लेकेलेको मैदान ब्याटिङकाे पीच हो। सुरुवातमा स्पिड दिने छ भने तीव्र बलरलाई उछाल मिल्ने छ। जतिजति खेल अघि बढ्ने छ, त्यसपछि पिच स्पिनमैत्री हुँदै जाने छ।

सम्भावित प्लेइङ ११

भारत: रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस अय्यर, इशान किशन (विकेट किपर) हार्दिक पाण्ड्या, रविन्द्र जडेजा, शार्दुल ठाकुर, मोहम्मद शमी, मोहम्मद सिराज र कुलदीप यादव

नेपाल: रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, अर्जुन साउद, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, भीम सार्की, करण केसी, कुशल मल्ल, सन्दीप लामिछाने, ललित राजवंशी र गुल्सन झा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here