काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सिनामंगलमा बरामद ६१ किलो सुन तस्करी गर्ने गिरोहसँग प्रत्यक्ष/अप्रत्यक्ष सम्पर्क देखिएका अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीसहित करिब एक सय जनासँग केरकार गरेको छ । सुन तस्करसँग साँठगाँठ देखिएको भन्दै महानिर्देशक अधिकारी गृह मन्त्रालयमा तानिएका छन् ।
उनीसहित विमानस्थल भन्सारका कर्मचारी र शंकास्पद अरुलाई सीआईबीले केही दिनयता बोलाएर सोधपुछ गरिरहेको छ । यसक्रममा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन पनि अनुसन्धानको दायरामा तानिएका छन् । उनलाई पनि सीआईबीले सोधपुछ गरेको छ । सोधपुछ गरिएका सबैलाई बोलाएका बेला उपस्थित हुने गरी कागज गराइएको स्रोतले जनाएको छ ।
यो प्रकरणको अनुसन्धानका लागि सीआईबीले एसएसपी दिनेश आचार्यलाई हङकङ पठाएको छ । अरु केही प्रहरी अधिकृतहरू पनि थप प्रमाण जुटाउन भारत गएका छन् । सोमबारमात्र नेपाल-भारत सीमा क्षेत्रबाट सुन तस्करीका आरोपित सुमन खरेल पक्राउ परेका थिए । उनलाई मंगलबार साँझसम्म काठमाडौं ल्याउने तयारी छ ।

















