काठमाडौं । कलाकार खगेन्द्र लामिछानेको पुस्तक पानीफोटो लोकार्पण भएको छ । काठमाडौँको गैरीधारास्थित एलिस रिसेप्सनमा सोमबार आयोजित विशेष कार्यक्रममा उक्त पुस्तक लोकार्पण गरिएको हो ।
कार्यक्रममा लेखक एवम् निर्देशक लामिछानेसँग लेखक एवम् सञ्चारकर्मी शिवानीसिंह थारुले पुस्तकका विषयवस्तुमा आधारित रहेर संवाद गरिन् । चलचित्रका प्राविधिक पक्षको यात्रालाई सूक्ष्म किसिमले लेखिएको यो पुस्तकले नयाँ किसिमको सन्देश प्रवाह गर्ने शिवानी सिंहको भनाइ छ ।
निर्देशक मनोज पण्डितले ‘पानीफोटो’ चलचित्र बन्नु आफैँमा विशेष रहेको र यसरी डकुमेन्टेसन हुनु चलचित्र क्षेत्रका लागि महत्त्वपूर्ण योगदान रहेको जनाए । ‘चलचित्रमा ब्याकग्राउन्डमा रहेर ककसले के के काम गर्छन् भनेर पुस्तकले प्रस्ट्याएको छ,’ उनले भने, ‘यो पुस्तक चलचित्र क्षेत्रका हरेक व्यक्तिले पढ्नैपर्छ । चलचित्र पढाउने कलेज र यससँग सम्बन्धित रहेर काम गर्ने संस्थाले यो पुस्तक राख्न जरुरी छ ।’
नेपालीमा आफ्नो माटो सुहाउँदो चलचित्र कसरी बन्छ भन्ने सन्दर्भमा पुस्तक कमै मात्रामा लेखिएको र त्यसको अभाव पूर्ति गर्न आफूले पानीफोटो पुस्तक लेखेको लेखक एवं निर्देशक खगेन्द्र लामिछानेले बताए । चलचित्र निर्माणका क्रममा आफूले केही घटना एवम् यात्रालाई नोट गरेको र कोरोनाकालमा त्यसलाई लिपिबद्ध गरेको उनको भनाइ छ । अनि पछि पुस्तकका रूपमा ल्याएको उनले जनाए । प्रकाशन गृह फाइनप्रिन्टका लागि यो पुस्तक खास रहेको प्रकाशक नीरज भारीले बताए ।
‘पानीफोटो’ मा नेपालमा १२ वर्ष चलेको माओवादी जनयुद्धको समयमा छोरा बेपत्ता पारिएका बाबुआमा र उनीहरूले छोरा खोज्न गरेको प्रयत्नको कथा हो । यस कथाका लेखक खगेन्द्रले ‘पानीफोटो’ नाटकलाई सन् २०१० मा आरोहण गुरुकुलमा मञ्चन गरेका थिए । यही नाटकलाई कलाकार लामिछानेले आफ्नै निर्देशनमा चलचित्रको स्वरूपमा प्रस्तुत गरेका हुन् । चलचित्र ‘पानीफोटो’ गत वर्ष साउन १३ मा प्रदर्शन भएको थियो ।
यस पुस्तकमा खगेन्द्रले नाटकदेखि सिनेमासम्मको यात्राकथा उतारेका छन् । कथालाई एउटा माध्यमबाट अर्कोमा लैजाँदा केके परिवर्तन गर्नुपर्छ, त्यो देखाएका छन् । यो पुस्तक नाटक र सिनेमाका विद्यार्थी, नाट्यकर्मी, फिल्मकर्मी र सिर्जनात्मक प्रक्रियामा रुचि राख्ने सबैका लागि रुचिकर हुनेछ ।


















