काठमाडाैं । नेकपा (एमाले)का सांसद रघुजी पन्तले प्रधामन्त्रीको चीन भ्रमणमा नेपाल–चीन विद्युत व्यापारको विषयमा छलफल गर्नुपर्ने बताएका छन्।
शुक्रबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले नेपालको विद्युत व्यापार भारतसँग निर्भर रहँदा भारतले दबाबमा राख्नसक्ने भन्दै चीनसँग पनि व्यापार गर्नुपर्ने बताए।
उनले चीनसँग विद्युत व्यापार गर्ने सम्बन्धमा प्रधानमन्त्रीको भ्रमणको बेलामा छलफल गर्नुपर्नेमा जोड दिए। त्यस्तै, बिआरआई परियोजनालाई पनि अगाडि बढाउनुपर्ने उनले बताए। उनले प्रधानमन्त्रीले अमेरिका हुँदै चीन जानु उपयुक्त नहुने पनि बताए। त्यसैगरी चीनसँग ३/४ वटा नाका खोल्नुपर्ने उनको भनाइ थियो।
नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले भ्रमणका बेलामा प्रधानमन्त्रीले देशको राष्ट्रियता, राष्ट्रिय अखण्डता, सार्वभौमिकतालाई असर नगर्ने गरी काम गर्नुपर्ने बताए। उनले नेपाली भूमिको सम्बन्धमा पनि कूटनीतिक रुपमा स्पष्ट रुपमा कुरा गर्नपर्ने बताए। प्रधानमन्त्रीको भ्रमणपछि तेल र रेलको समस्या समाधान हुने उनले विश्वास व्यक्त गरे।
नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले प्रधानमन्त्रीले यस भ्रमणका क्रममा नेपाल–चीन नाका खोल्ने विषयमा निर्णय हुने बताए। उनले व्यापारको विषयमा पनि छलफल हुने उल्लेख गरे। त्यस्तै, देशको राष्ट्रियतालाई ख्याल गर्दै अन्य छिमेकी मित्रराष्ट्र र अन्तर्राष्ट्रिय सम्बन्धहरुलाई पनि सुमधुर, सन्तुलित रुपमा राख्ने हिसाबले चिनियाँ पक्षसँग छलफल र सम्झौताहरु हुने बताए।
त्यस्तै, नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले प्रधानमन्त्रीको चीन भ्रमणको बेलामा सीमासम्बन्धी समस्या समाधान गर्ने विषयमा पनि छलफल हुने बताए। नेपालको चुच्चे नक्साको सन्दर्भमा पनि चिनियाँ पक्षसँग छलफल हुने र प्रधानमन्त्रीले उनीहरुलाई सो कुराको बोध गराउने उनले बताए।
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले प्रधानमन्त्रीलाई नेपालको चुच्चे नक्साको कुरा नटुंग्याइ चीन भ्रमण नजान सुझाव दिए। उनले हङकङ ट्रान्जिटमा नेपाल एयरलाइन्सले प्यासेन्जर बोक्न नपाएको भन्दै सो समस्या समाधान गर्न प्रधानमन्त्रीलाई आग्रह गरे।
शाहीले हङकङस्थित महावाणिज्य दूतावासले धेरै रकम कोठाभाडाबापत तिर्नुपरेको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराए।

















