भारत १९औँ एसियाली खेलकुद प्रतियोगिताको महिला क्रिकेटको फाइनलमा पुग्याे

70

काठमाडौं । भारतीय टोली चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको महिला क्रिकेटको फाइनलमा पुगेको छ । आइतबार भएको खेलमा बंगलादेशलाई आठ विकेटको फराकिलो अन्तरले हराउँदै भारत फाइनलमा पुगेको हो ।

टस जिती पहिलो ब्याटिङ राजेको बंगलादेशले १७.५ ओभरमा अलआउट हुनुअघि ५१ रनमात्र बनाउन सकेको थियो । जवाफी ब्याटिङमा ओर्लिएको भारतले ८.२ ओभरमै केवल दुई विकेट गुमाएर विजयलक्ष्य पुरा गरेको थियो ।

भारतको जितमा जेमिमाह रोड्रिग्वेजले अविजित २० रनको योगदान गरिन् । सफाली बर्माले पनि १७ रन बनाएकी थिइन् । कप्तान स्मृति मन्धनाले सात र कनिका आहुजाले अविजित एक रन बनाएकी थिइन् ।

त्यसअघि पहिले ब्याटिङ गरेको बंगलादेशका लागि कप्तान निगार सुल्तानाले मात्र दोहोरो सँख्यामा रन बनाउन सकिन् । उनले १२ रन बनाएकी थिइन् । बंगलादेशले अतिरिक्त रुपमा आठ रन पाएको थियो । भारतीय बलर पूजा वस्त्राकरले चार विकेट लिइन् ।

प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल आइतबार नै श्रीलंका र पाकिस्तानबीच हुनेछ । उक्त खेलमा विजयी हुने टोलीले फाइनलमा उपाधिका लागि भारतसँग प्रतिस्पर्धा गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here