काठमाडाैं । श्रीपशुपति अर्चना सुव्यवस्था प्रतिष्ठानले “भगवान् श्रीपशुपतिनाथ” नामक महाग्रन्थ प्रकाशनमा ल्याएको छ ।
शनिबार एक समारोहका बीचमा उक्त ग्रन्थ लोकार्पण गरीएको छ । प्रतिष्ठानका अध्यक्ष श्रीदेवीप्रसाद चापागाईको सभापतित्वमा संचालित लोकार्पण कार्यक्रममा महाग्रन्थ “भगवान श्रीपशुपतिनाथ” को संयुक्त लोकार्पण गलेश्वर पीठाधिश्वर श्रीमद्परमहंस परिब्राजकाचार्य श्रोत्रीय ब्रह्मनिष्ठ अनन्तश्री विभूषित महामण्डलेश्वर डा. स्वामी आत्मानन्द गिरीजी महाराज र महेन्द्र संस्कृत विश्वविद्यालयका पूर्व शिक्षाध्यक्ष प्रा. श्रीविद्यानाथ उपाध्याय भट्टज्यूले संयुक्त रुपमा गर्नुभएको थियो।
सम्पादक मण्डलका तर्फबाट प्रतिनिधित्व गर्दै प्रतिष्ठानका विद्वत परिषद सदस्य डा श्रीनयनाथ पौडेलले महाग्रन्थको विषयवस्तु र समग्र ग्रन्थपरिचयबाट समारोह प्रारम्भ गरीएको उक्त कार्यक्रममा लोकार्पणकर्ताद्वय गलेश्वर पीठाधिश्वर श्रीमद्परमहंस परिब्राजकाचार्य श्रोत्रीय ब्रह्मनिष्ठ अनन्तश्री विभूषित महामण्डलेश्वर डा. स्वामी आत्मानन्द गिरीजी महाराज र महेन्द्र संस्कृत विश्वविद्यालयका पूर्व शिक्षाध्यक्ष प्रा. श्रीविद्यानाथ उपाध्याय भट्टका अतिरिक्त प्रा. डा. शिवगोपाल रिसाल एवं सहप्रा. डा. माधवप्रसाद लामिछानेसमेतले महाग्रन्थमा समाविष्ट भगवानश्री पशुपतिनाथको तत्त्व दर्शन, उपासना विवेचना एवं श्रीपशुपतिनाथको ऐतिहासिक एवम सांस्कृतिक महत्वका विषयमा प्रकाश पार्नु भएको थियो।
करिव १२३८ पृष्ठको महाग्रन्थको स्तुती खण्डमा संस्कृत एवम नेपाली स्तुतिहरु, पद्यहरु समावेश गरीएको छ भने तत्व दर्शन खण्ड, उपासना खण्ड एवं इतिहास संस्कृत खण्ड गरी तीन खण्डमा नेपालका विभिन्न विद्वानहरुका ६४ लेख समावेश गरीएको छ ।
शंकाराचार्य विरचित पशुपतिपूजाविधानम को पाण्डुलिपी सहित संस्कृत नेपाली अनुवाद राखिएको ग्रन्थमा ११ अनुसूची तथा भगवान श्रीपशुपतिनाथ र पशुपतिक्षेत्रमामा रहेका मूर्त अमूर्त सम्पदाहरु– संस्कृतिहरुको करीव २०० रंगीन छायाचित्र समेत संलग्न उक्त महाग्रन्थ र धर्मानुयायी जिज्ञासुहरुका लागि संग्रहनीय, पठनीय श्रोत सामग्री हुने प्रकाशक श्रीपशुपति अर्चना सुव्यवस्था प्रतिष्ठानले जनाएको छ।


















