गण्डकी । पदयात्रा पर्यटनमा चासो र चर्चा कमाउँदै गएको नेपालको मध्यपहाडी क्षेत्रको एकमात्र सहस्राब्दी पदमार्ग (मिलेनियम ट्रेक) पोखरा महानगरपालिकासँग पनि जोडिएको छ । सन् २००० देखि सञ्चालनमा आएको तनहुँको दुलेगौँडाबाट स्याङ्जाको रामबाछा जोड्ने ७२ किलोमिटर दुरीको उक्त पदमार्गले यसअघि पोखरा महानगरपालिकालाई छोएको थिएन ।
पुनः नक्शाङ्कन कार्य भूगोल विषयका सहप्राध्यापक डा.रामजी पोखरेलको नेतृत्वमा तयार गरिएको जानकारी दिँदै गुरुङले यसलाई चाँडै नै अन्तिम रुप दिएर सार्वजनिक गरिने बताए । नयाँ नक्शाङ्कनमा पोखरा महानगरपालिका–३३ को भरतपोखरीबाट निर्मलपोखरी, स्याङजाको टक्सार हुँदै शुक्ला गण्डकी नगरपालिका–१२ लामागाउँ जोडिएको उनले जानकारी दिए ।
समितिका महासचिव गुरुङका अनुसार नयाँ नक्शाङ्कनमा यस अघि छुटेका तनहुँकै धार्मिक पर्यटकीयस्थल च्यवनधाम, वंशु पार्क, तमु हिल पार्क आदि सांस्कृतिक एवम् ऐतिहासिकस्थल समेटिएका छन् । समुद्री सतहबाट चार सय २० मिटरदेखि एक हजार सात सय १५ मिटर उचाइसम्ममा रहेको यो पदमार्ग उच्च पहाडी स्थानमा जान नसक्ने तर पदयात्राको इच्छा राख्नेका लागि पनि उपयुक्त मानिन्छ ।
पदमार्गको प्रवद्र्धनका लागि नेपाल पर्यटन बोर्डले रू १० लाख तथा पदमार्गमा सिँढीबाटो निर्माणका लागि रू ५० लाख छुट्याएको छ । चालु आर्थिक वर्षमा मिलेनियम ट्रेकका लागि गण्डकी प्रदेश सरकारले रू २० लाख विनियोजन गरेको महासचिव गुरुङले जानकारी दिए । RSS


















