कैद मिनाहा गरिएको विषयमा राष्ट्रपति समक्ष ध्यानाकर्षण

53

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सबै प्रक्रिया पूरा गरेर मन्त्रिपरिषदबाट पास गरी ल्याएको विषयलाई आफूले इन्कार गर्न नसक्ने संवैधानिक व्यवस्था रहेको स्पष्ट पार्नुभएको छ । संविधान दिवसका अवसरमा कैद मिनाहा गरिएको विषयमा ध्यानाकर्षण गराउन गएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितको प्रतिनिधिमण्डलसँग राष्ट्रपति पौडेलले संसदीय व्यवस्थाको मान्यता अनुसार मन्त्रिपरिषदले गरेको निर्णयको जस अपसजको भागी सरकार नै हुने भएकोले सरकारलाई नै प्रश्न गर्न आग्रह गर्नुभयो ।

उहाँले संविधानले राष्ट्रपतिलाई विवेक प्रयोग गर्न दिएको ठाउँमा आफूले प्रश्न उठाएर ३४ जनाको आममाफीका लागि गृहमन्त्रालयबाट आएको पत्र फिर्ता गराएको स्मरण गराएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । लामिछाने नेतृत्वको टोलीलाई राष्ट्रपति पौडेलले संसदमा पनि सरकार रहेकाले प्रधानमन्त्री र गृहमन्त्रीलाई किन जवाफदेही बनाउन नसकेको भन्दै प्रतिप्रश्न गर्नुभएको थियो ।

संविधान र व्यवस्था अनुसार रास्वपाको प्रतिनिधिमण्डल आउने उल्टो भएको उहाँको टिप्पणी थियो । संविधान दिवसका दिन माफी पाउनेमा तरुण दलका पूर्वनेता रिगल भनिने योगराज ढकालसमेत छन् । बाँकेकै चेतन मानन्धरको हत्या अभियोगमा २०७५ वैशाखमा अदालतबाट उनले जन्मकैदको सजाय पाएका थिए । ढकाललाई माफी दिएकोमा मानन्धरका परिवारले पनि सरकार र राष्ट्रपतिमाथि प्रश्न उठाएका छन् । रास्वपाका सभापति लामिछानेले अभिभावकको हैसियतले सरकारको ध्यानाकर्षण गराईदिनका लागि आग्रह गर्न राष्ट्रपति समक्ष आएको बताउनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here