मातृ मृत्युदर घटाउनेतर्फ सरकारको ध्यान : मन्त्री बस्नेत

68

केदार तिमल्सिना
काभ्रेपलाञ्चोक । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले मातृ मृत्युदर घटाउनेतर्फ सरकारको ध्यान केन्द्रित रहेको बताउनु भएको छ । धुलिखेल अस्पतालमा बुधबार आयोजित स्त्री तथा प्रसुती रोग विशेषज्ञहरुको अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्नुहुँदै मन्त्री बस्नेतले सरकारले महिला स्वास्थ्यको क्षेत्रमा विभिन्न कामहरु सुरु गरेको बताउनु भएको हो ।

सम्मेलनलाई सम्बोधन गर्नुहुँदै मन्त्री बस्नेतले सरकार मातृ मृत्युदर घटाउने, उपचारमा सहजिकरण गर्ने, स्वास्थ्य समस्या देखिएका महिलाहरुको चाँडोभन्दा चाँडो उपचार गर्ने कुरामा मन्त्रालयले काम गरिरहेको बताउनुभयो । उहाँले केही वर्ष पहिलादेखि रोकिएको पाठेघरको मुखको क्यान्सरविरुद्धको खोपलाई निरन्तरता दिने काम सुरु गरिएको बताउनुभयो । उक्त खोपले पाठेघरको मुखको क्यान्सर हुनबाट महिलाहरुलाई जोगाउने विश्वास व्यक्त गर्नुभयो । उक्त सरकारले हाल १४ वर्ष उमेर समूहका किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाउन सुरु गरेको बताउनुभयो ।

मन्त्री बस्नेतले हाललाई पाठेघरको मुखको क्यान्सरविरुद्धको २० हजार मात्रा खोप उपलब्ध भए पनि सरकारले यसलाई आफ्नो दायित्व सम्झेर थप खोप व्यवस्थापन गरी पाठेघरको मुखको क्यान्सर हुनबाट जोगाउन खोप कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो । उहाँले धुलिखेल अस्पतालले मातृ मृत्युदर घटाउने, महिलाहरुमा हुने पिसाब चुहिने समस्याको समाधानलगायतको क्षेत्रमा उल्लेख्य योगदान गरेको बताउनुभयो । उहाँले सरकारले धुलिखेल अस्पतालले स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदानको कदर समेत गरेको बताउनुभयो ।

कार्यक्रममा धुलिखेल अस्पतालका संस्थापक प्रा.डा. रामकण्ठ माकजु श्रेष्ठ, अस्पतालकी स्त्री तथा प्रसुती विभाग प्रमुख डा. आभा श्रेष्ठ, अस्पतालका स्त्री रोग विशेषज्ञ एवम् मिडिया तथा सञ्चार विभाग प्रमुख प्रा.डा. सुमनराज ताम्राकारलगायतले अस्पतालले स्त्री तथा प्रसुती रोग तथ अन्य विभिन्न रोगको उपचारमा पु¥याएको योगदानको बारेमा जानकारी दिनु भएको थियो ।

नेपाली तथा जर्मनीमा रहेका स्त्री तथा प्रसुती रोग विशेषज्ञहरु संलग्न रहेको जेनसोगको आयोजनामा भएको अन्तर्राष्ट्रिय सम्मेलनमा निःसन्तान, रजनोवृति, पाठेघरको जन्मजात विकृती, गर्भवती बेलाका मेडिकल समस्याहरु, प्रसवोत्तर अधिक रक्तश्रावको विषयमा छलफल हुने धुलिखेल अस्पतालकी स्त्री तथा प्रसुती विभाग प्रमुख डा. आभा श्रेष्ठले जानकारी दिनुभयो । उहाँले सम्मेलनमा स्त्री रोगसम्बन्धी ल्यापारोस्कोपी शल्यक्रिया, इन्डोमेट्रिओसिस, पाठेघरमा मासु पलाउने, असामान्य महिनावारीको विषयमा समेत विशेषज्ञहरुबीच छलफल तथा कार्यपत्र प्रस्तुत हुने बताउनुभयो । प्रत्येक तीन/तीन वर्षमा स्त्री तथा प्रसुती रोग विशेषज्ञहरुको अन्तर्राष्ट्रिय सम्मेलन गर्ने लक्ष्य राखेर सन् २०१७ मा सम्मेलन सुरु गरिएपनि कोरोनालगायतको कारणले सम्मेलन रोकिएको थियो । gorlkhapatra

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here