इजरायलमा बेपत्ता विद्यार्थीको स्थिति पत्ता लगाइदिन आग्रह

79

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा बेपत्ता रहेका नेपाली विद्यार्थीको स्थिति पत्ता लगाइदिन अन्तर्राष्ट्रिय संघसंस्था र कूटनीतिक मिसनसँग आग्रह गरेका छन्।

आइतबार ललितपुरको भैंसेपाटीस्थित निवासमा अन्तर्राष्ट्रिय समाचार संस्थाका प्रतिनिधिसँग कुराकानी गर्दै परराष्ट्रमन्त्री साउदले जारी द्वन्द्वका क्रममा बेपत्ता विद्यार्थी विपिन जोशीको अवस्था पत्ता लगाइदिन आग्रह गरेका हुन्।

कुराकानीका क्रममा परराष्ट्रमन्त्री साउदले प्रत्यक्षदर्शी नेपाली विद्यार्थीले बताएअनुसार विपिन आक्रमणकारी हमास समूहको कब्जामा रहेको हुनसक्ने जानकारी आएको बताए।

‘विपिनसहितका नेपाली विद्यार्थीहरू बंकरमा लुकेर बसेको बेलामा आक्रमणकारीले छोटो समयमा पटक–पटक आक्रमण गरेको देखिन्छ। पहिले गोली चलाएको र त्यसपछि ग्रिनेड फालेको देखिन्छ,’ परराष्ट्रमन्त्री साउदले भने, ‘प्रत्यक्षदर्शी विद्यार्थीले भनेअनुसार दुईवटा ग्रिनेड फाल्दा एउटा नपड्किँदै विपिनजीले एउटा ग्रिनेट बाहिर फ्याँकेको देखिन्छ।’

प्रत्यक्षदर्शी विद्यार्थीले देखेअनुसार त्यसपछि केही थाइल्यान्डका विद्यार्थीसँग विपिनलाई पनि अपहरण गरेर लगिएको उनले बताए। त्यसदेखि नै उनको अवस्था अज्ञात रहेको भन्दै मन्त्री साउदले जोशीको अवस्था अहिलेसम्म पत्ता लाग्‍न नसकेको जानकारी दिए।

‘उहाँको स्थिति पत्ता लगाइदिनका लागि हामीले इजरायल सरकारसँग आग्रह गरेका छौं। इजरायल सरकारले पनि उहाँको स्थिति के हो भन्‍ने विषयमा पत्ता लगाउन प्रतिबद्धता जनाएको छ,’ परराष्ट्रमन्त्री साउदले भने, ‘तपाई (अन्तर्राष्ट्रिय सञ्‍चारमाध्यम)मार्फत अन्तर्राष्ट्रिय संघसंस्था, विभिन्‍न कूटनीतिक मिसनहरूसँग पनि उहाँको स्थिति पत्ता लगाइदिनका लागि अनुरोध गर्न चाहन्छु।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here