नेपालको शान्ति प्रक्रियामा संयुक्त राष्ट्रसंघ भूमिका महत्वपूर्ण रहने

61

काठमाडौं ।  नागरिक समाजले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउनेबारे सरोकारवाला पक्षसँग पनि छलफल गर्नुपर्ने माग राखेका छन्। उनीहरुले शान्ति प्रक्रियाका बाँकी काम टुंगोमा पुर्‍याउन पीडित पक्षको आवाज नसुन्ने हो भने एकपक्षीय हुने जनाए ।

नेपालको शान्ति प्रक्रियामा संयुक्त राष्ट्रसंघ भूमिका महत्वपूर्ण रहेको भन्दै उनीहरुले महासचिवको भ्रमणको समयमा शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउने एजेण्डा भइरहँदा पीडित पक्षसँग पनि वार्ता गर्नुपर्ने आफूहरुको माग रहेको जनाए ।

द्वन्द्वपीडित साझा चौतारीका पूर्वअध्यक्ष सुमन अधिकारीले महासचिव गुटेरेसले नेपाल भ्रमणमा रहँदा शान्ति प्रक्रियालाई मुख्य प्राथमिकतामा राख्नुभएको तर पीडित पक्षसँग भेट्न र उनीहरुका आवाज सुन्न बेवास्ता गरेको आरोप लगाए। उनले आफूहरुले बारम्बार पत्र पठाएर पनि शान्ति प्रक्रियाका बारेमा सरकार पक्षको मात्रै आवाज सुन्दा एकपक्षीय हुने र पीडित पक्षको आवाज सुन्न आग्रह गरेको भए पनि सरोकारवाला पक्ष द्वन्द्वपीडित र नागरिक समाजलाई भेट्न चासो नदिएको पाएको उल्लेख गरे।

सरकारले अन्तर्राष्ट्रिय मञ्चमा पटकपटक प्रतिवद्धता जनाउने र लागू गर्ने कुरामा बेवास्ता गरिरहेको आरोप लगाउँदै अधिकारीले शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन सरकारले अन्तर्राष्ट्रिय मञ्चमा गरेको प्रतिवद्धताहरु गलत रहेको बताए। द्वन्द्व पीडितलाई नै नभेटी शान्ति प्रक्रिया टुंग्याउँदा परिपक्व नहुने धारणा राखे।

उनले भने, ‘नेपालको शान्ति प्रक्रियामा यूएनको ठूलो भूमिका छ। अहिले महासचिवको भ्रमणको समयमा एउटा एजेण्डा भनेको शान्ति प्रक्रिया नै छ। शान्ति प्रक्रियाको पनि संक्रमणकालीन न्याय मुल एजेण्डा बाँकी त्यही नै हो। त्यही विषयमा फोकस भएर उहाँको भ्रमणको एउटा एजेण्डा छ भनेपछि सरकारसँग भेट्ने कुरा स्वभाविक कुरा भइहाल्यो। सरकारसँग यससँग सरोकारवाला पक्ष द्वन्द्वपीडित र नागरिक समाजलाई भेट्नुपर्छ भन्ने लागेको हो। समय मागेको पनि त्यही हो।’

अधिकारीले महासचिवको भ्रमणबाट शान्ति प्रक्रियाका बाँकी काम टुंगिनुपर्ने र सरकारलाई सर्वोच्च अदालतको फैसलाका अनुसार काम गराउन राष्ट्रसंघले दबाब दिनुपर्ने बताए। शान्ति प्रक्रियाका बाँकी काम पटकपटक बल्झाउने सरकार र राजनीतिक दलहरुको चरित्र बन्द गर्नुपर्ने उनको धारणा  थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here