प्लास्टिकजन्य फूलमाला बिक्री वितरणमा रोक

44

सल्यान ।  जिल्लाको शारदा नगरपालिकाले प्लास्टिकजन्य फूलमाला बिक्री वितरणमा रोक लगाएको छ। नगरपालिकाले  एक सूचना जारी गर्दै प्लास्टिकका फूलमाला बिक्रीमा प्रतिवन्ध लगाएको हो।

तिहार नजिकिँदै गर्दा स्थानीयस्तरमा उत्पादन भएका फूलको प्रयोग गर्न आग्रह गर्दै प्लास्टिकका फूलमाला बिक्रीमा प्रतिबन्ध लगाएको निमित्त प्रमुख प्रशासकीय अधिकृत लिलाधर बबालले जानकारी दिए।

नेपाल सरकारले वातावरण संरक्षण ऐन, २०७६ को दफा १५ को उपदफा ९६० ले दिएको अधिकार प्रयोग गरी राजपत्रमा प्रकाशित सूचनाअनुसार प्लाष्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण वा भण्डारण गर्न पूर्णरुपले रोक लगाउने निर्णय गरेको विषय जानकारी गराउँदै पालिकाले पनि सूचना जारी गरी जानकारी गराएको बताए।

पछिल्लो समय पुष्प खेतीको व्यवसाय बढ्दै गएकाले स्थानीय स्तरमै उत्पादन गरिएका फूलमाला प्रयोग गरी  दशै, तिहार र छठ जस्ता चाडपर्वहरुमा प्लाष्टिकजन्य फूलमाला रोक्न आग्रहसमेत गरिएको बताए।

यस्तै, अन्य उपभोग्य सामग्रीहरुका साथै पटकाजन्य विष्फोटक पदार्थहरु खरिद तथा विक्रि वितरण र भण्डारण नगर्न आग्रहसमेत  गरिएको छ।

अनुगमनका क्रममा नेपाल सरकारको उक्त निर्णय विपरित कुनै कार्य गरेको पाइएमा कानुनबमोजिम कारबाही प्रकृया अगाडि बढाइने बबालले बताए।

गत वर्षबाट सरकारले प्लास्टिकका फुलमालामा प्रतिबन्ध लगाएपछि अघिल्ला वर्षहरूमा जस्तो प्लास्टिकका फूलमाला बजारमा देखिएका छैनन्। स्थानीय सरकारको यो व्यवस्थाले फूल खेती गर्दै आएका किसान खुसी भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here