काठमाडौं, २२ कात्तिक । उत्तर कोरियाले नेपालमा रहेको आफ्नो दूतावास बन्द गर्ने निर्णय गरेको छ । नेपालका लागि उत्तर कोरियाली राजदूत जो योङ मेनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर यसबारे जानकारी गराएका प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार रुपक सापकोटाले जानकारी दिए ।
उनका अनुसार उत्तर कोरियाली राजदूत मेनले सोमबार प्रधानमन्त्री दाहाललाई दूतावास बन्द गर्ने निर्णय सुनाएका हुन् । उत्तर कोरियाको यो निर्णयप्रति प्रधानमन्त्री दाहालले राजदूतसँग दुःख व्यक्त गरेका थिए ।
उनले उत्तर कोरियाले छिट्टै आफ्नो दूतावास पुनः सञ्चालनमा ल्याउने आशा राखेको बताएका थिए । विश्व राजनीति परिवेश, भूराजनीतिक प्रभाव र विश्वव्यापी रूपमा बढदै गएको आर्थिक मन्दीका कारण उत्तर कोरियाले नेपालको दूतावास बन्द गर्ने निर्णय गरेको बताइएको छ ।


















