काठमाडौं । तिहार नजिकिँदै गर्दा बजारमा सुनचाँदीको कारोबार बढ्न थालेको छ । चाडपर्वका बेला ग्राहकले नयाँ गहना किन्ने भएकाले पनि सुनचाँदीको कारोबार बढ्न थालेको छ । सामान्य अवस्थामा दैनिक १० किलो सुन बिक्री हुने गरेकामा अहिले २० किलोमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आर्थिक मन्दी र मूल्य बढेका कारण विगतका वर्ष सुनचाँदीको कारोबारमा ३० प्रतिशतले गिरावट आएको उनले जानकारी दिए । तिहारको समयमा उपभोक्ताले धनसम्पत्ति जोड्ने भएकाले बजार मागसमेत बढेको व्यवसायीको भनाइ छ । तिहार आउनै लाग्दा धनतेरस र लक्ष्मीपूजाको दिन झनै सुनचाँदीको कारोबार बढ्छ ।
उपभोक्ताले धनतेरस र लक्ष्मीपूजामा सुनचाँदी जोडेमा वर्षभरि धन आर्जन हुने विश्वास राख्छन् । चाडपर्वको समयमा सुनसँगै चाँदीको समेत कारोबार बढ्छ ।
गत असोज महिनादेखि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दै गएको थियो । गत कात्तिक १२ मा प्रतितोला एक लाख १७ हजार रुपियाँ पुगेको सुनको मूल्य गत सातादेखि क्रमिक रूपमा घट्दै गएको छ । यस्तै चाँदी प्रतितोला एक हजार ३८५ रुपियाँ रहेको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।


















