गुल्मी । गुल्मीको सदरमुकाम तम्घासको गेष्ट हाउस टोलमा ज्येष्ठ नागरिक पार्कको निर्माण कार्य सुरु गरिएको छ । रेसुङ्गा नगरपालिका १ मा अवस्थित पुरानो सिमलारुख भनिने हालको गेष्टहाउस टोलमा रहेको करिब ४ आनाको सार्वजनिक जग्गामा यहाँका स्थानीयले ज्येष्ठ नागरिक पार्क निर्माण गर्न सुरु गरेका हुन् ।
ज्येष्ठ नागरिकहरुलाई दिउँसोको समयमा घरमा एक्लै समय बिताउन गाह्रो हुनेभएकाले उहाँहरुको साझा भेटघाटका लागि पार्क निर्माण गर्न लागिएको पार्क निर्माणका स्थानीय अगुवाई गर्नुभएका ओमप्रसाद श्रेष्ठले बताउनुभयो । ज्येष्ठ नागरिकका लागि पार्क निर्माण गर्न उपभोक्ता समितिमार्फत कार्य सुरु गरिएको छ । जसको अध्यक्ष स्वयम् श्रेष्ठ हुनुहुन्छ ।
सुरुमा यस स्थानमा भिरालो जग्गा थियो । यहाँका स्थानीयहरुले करिब २० हजार रुपियाँ जुटाएर तलदेखि वाल निर्माण गर्ने कार्य गरेका थिए । त्यसका लागि रेसुंगा नगरपालिका १ का प्रथम वडाअध्यक्ष अखिलेश्वरप्रसाद पाण्डे वडाअध्यक्ष हुँदा वडाबाट ५० हजार रुपियाँ बजेटको व्यवस्था गरिदिनुभएको छ । सो बजेटबाट भिरालो जग्गामा बेस निर्माणको कार्य गरिएको छ ।
भिमचोकदेखि रेसुंगा नगरपालिका २ लाई जोड्ने पीपलको बोटसम्म उकालो बाटो भएकाले सो स्थानको बीचमा ज्येष्ठ नागरिक पार्कको निर्माण कार्य सुरु गरिएको हो । ‘भिमचोकदेखि माथि वडा २ सम्म पुग्दा ठाडो उकालो बाटो छ । ज्येष्ठ नागरिकहरु ठाउँ ठाउँमा बस्न खोज्ने भएकाले बीच भागमा पर्ने स्थानमा हामीले ज्येष्ठ नागरिक पार्क बनाउन थालेका हौं’ श्रेष्ठले भन्नुभयो, ‘सार्वजनिक जग्गाको संरक्षण पनि हुने र ज्येष्ठ नागरिकहरुको भेटघाटका लागि साझा थलो पनि हुने भएकाले यहाँ ज्येष्ठ नागरिक पार्क निर्माण सुरु गरेका हौं ।’
अहिलेसम्म पार्कका लागि डेढ लाख रुपियाँ खर्च भइसकेको उपभोक्ता समितिका सचिव लोकबहादुर कुँवरले जानकारी दिनुभयो । उपभोक्ताहरुले सुरुमा आफैले पैसा उठाएर निर्माण सुरु गरिएको हो । पर्खाल उठाउन, जाली लगाउन नपुगेपछि उपभोक्ता समितिबाट २० हजार रुपियाँ उठाएर काम सुरु गरिएको उहाँले बताउनुभयो ।
वडाअध्यक्ष रामप्रसाद पन्थीले ज्येष्ठ नागरिकहरुका लागि निर्माण गर्न सुरु गरिएको ज्येष्ठ नागरिक पार्कलाई व्यवस्थित बनाउन आफु लागि परेको बताउनुभयो । ज्येष्ठ नागरिक पार्कका लागि आफू निर्वाचित भइसकेपछि पनि वडाबाट बजेट छुट्टाएर कार्य गरिरहेको बताउनुभयो । आगामी दिनमा पार्कभित्र सार्वजनिक शौचालय, सिसिटिभी क्यामेरा, फ्रि वाइफाई र ज्येष्ठ नागरिकका लागि एलडी टिभि जडानसम्मको लक्ष्य राखिएको बताउनुभयो ।
















