पोखरा । आन्तरिक राजस्व कार्यालय पोखराले बिभिन्न कार्यक्रमहरूको आयोजना गरी राष्ट्रिय कर दिवस तथा कर सप्ताह कार्यक्रम – २०80 सम्पन्न गरेको छ । “स्वच्छ, पारदर्शी र प्रविधिमैत्री कर प्रशासन, सामाजिक न्याय, आर्थिक समृद्धि र सुशासन” भन्ने नारा सहित बिहिबार एक कार्यक्रमका बिच राष्ट्रिय कर दिवस तथा कर सप्ताह सम्पन्न भएको छ । करदातालाई सम्मान तथा कर सप्ताह कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेतले करदाता र कर प्रशासनको सम्बन्धमा सुदृढ बनाउँदै लग्नुपर्ने बताउनुभयो । उहाँले कर चेतना अभिवृद्धिका लागि करदाता शिक्षा कार्यक्रम निरन्तर संचालन हुनुपर्ने बताउनुभयो ।
यसैगरी कार्यक्रममा बोल्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का सचिव एंव आन्तरिक राजस्व विभागका पूर्व महानिर्देशक बिनोद बहादुर कुँवरले कर प्रशासनमा दिनानुदिन सुधार हुँदै आइरहेको बताउँदै कर प्रशासनलाई अन्तराष्ट्रिय स्तरको बनाउनु पर्नेमा जोड दिनु भयो। यसैगरी आर्थिक मामिला मन्त्रालयका सचिव बलराम रिजालले करले तत्काल लाभ दिएको नदेखिएतापनि लिर्घकालीन लाभ प्रदान गर्ने बताउनुभयो ।
करदातालाई सम्मान तथा कर सप्ताह कार्यक्रमको समापन कार्यक्रममा बोल्दै आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख कर अधिकृत शिव शर्माले कर कानूनको पालना गरी राजस्व संकलनमा योगदान गर्नु हुने करदाताप्रति हार्दिक आभार व्यक्त गर्नुभयो। उहाँले कार्यालयले प्रदान गर्ने सेवाहरूमा गुणात्मक परिवर्तन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यकममा बोल्दै उद्योग वाणिज्य संघ पोखराका अध्यक्ष पवन कुमार प्रजापति, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठ र चेम्बर अफ कमर्श पोखराका अध्यक्ष यमनाथ पौडेलले कर प्रशासन व्यवसायमैत्री बन्नुपर्नेमा जोड दिदै राज्यले व्यवसायीक वातावरण सुधार गर्न आवश्यक पहल कदमी गर्नुपर्नेमा जोड दिनुभयो। कार्यक्रममा आयकर तर्फ धेरै कर तिर्ने करदाताहरूलाई सम्मान गरिएको छ। जसमा बैंक तथा वित्तिय सेवा तर्फ जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड, व्यापार तर्फ माछापुच्छ्रे मेटल एण्ड मेशीनरी वर्क्स प्रा.लि. र उद्योग तर्फ कर्माचार्य वेक्स एण्ड फुड्स प्रा.लि. सम्मानीत भएका छन् । कार्यक्रममा उत्कृष्ट कर्मचारी टाइपिष्ट नायब सुब्बा कृष्णहरी गौतमलाई सम्मान गरिएको छ। आन्तरिक राजस्व कार्यालय पोखराले कार्तिक मसान्त सम्ममा राजस्व संकलन लक्ष्यको 101.68 प्रतिशत राजस्व संकलन गर्न सफल भएको छ ।
कार्यालयको ६ अर्ब ३९ करोड ४६ लाख ८१ हजार राजस्व संकलन गर्ने वार्षीक लक्ष्य रहेकोमा कात्तिक मसान्त सम्ममा १ अर्ब ३8 करोड 48 लाख 79 हजार राजस्व संकलन भएको छ। कार्यालयले कार्तिक मसान्त सम्ममाका लागि निर्धारित लक्षको आयकर तर्फ 134.50 प्रतिशत, अन्तः शुल्क तर्फ 116.36 प्रतिशत र मू.अकर तर्फ 78.14 प्रतिशत राजस्व संकलन गर्न सफल भएको छ। आन्तरिक राजस्व कार्यालय पोखरामा कार्तिक मसान्त सम्ममा आयकरमा 66,875 करदाता दर्ता भएका छन्। यसैगरी मू.अ.करमा 12093, अन्तः शुल्कमा 4470 दर्ता भएका छन्। व्यक्तिगत स्थायी लेखा नम्बर लिने करदाताको संख्या 162390 पुगेको छ।


















