नेपाल सुपर लिगमा बुटवलमाथि ललितपुरको सहज जित

43

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा शनिबार भएको दिनको दोस्रो खेलमा ललितपुर सिटीले बुटवल लुम्बिनीमाथि २–० को जित निकाल्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। पहिलो हाफमा गरेको दुई गोललाई कायम राख्दा ललितपुरले बुटवलमाथि सहज जित हासिल गर्‍यो।

ललितपुरको जितमा दिनेश ह्यानजन र अन्नत तामाङले समान १–१ गोल गरेका थिए। २६ औँ मिनेटमा अनन्त तामाङको लामो पासमा पापा केबेले नियन्त्रणमा लिएर प्रहार गर्न खोज्दा बुटवल डिफेन्डर अर्नेस्ट टाम्पीले क्लियर गर्न प्रयास गरेको बललाई नियन्त्रणमा लिँदै दिनेशले सहज गोल गरेका थिए।

६ मिनेटपछि अनिल महर्जनको कर्नरमा ललितपुरका कप्तान तथा मार्की खेलाडी अनन्त तामाङले हेडमार्फत टिमको अग्रता दोब्बर बनाए। त्यसपछि पहिलो तथा दोस्रो हाफमा थप गोल गर्न असफल भयो।

दोस्रो हाफमा बुटवलले गोलका केही राम्रा प्रयास गरे पनि सफल हुन नसक्दा खेलमा उसले सम्भावित गोलका मौका चुकायो। अघिल्लो संस्करणको लिग चरणमा एक अर्काविरुद्ध भिड्दा ललितपुरले बुटवललाई १–० ले नै हराएको थियो।

जारी संस्करणमा ९ टिमले प्रतिस्पर्धा गर्दै छ। लिग तालिकाको शीर्षस्थानमा रहनेले दोस्रो हुनेसँग पहिलो क्वालिफायर खेल्ने छ। पहिलो क्वालिफायर विजेता टोली फाइनलमा पुग्दा पराजित टोलीले अर्को मौका पाउने छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here