राष्ट्रिय स्वतन्त्र पार्टीको बैठकबाट राजनीतिक दस्ताबेज प्रस्तावना पारित

86

महोत्तरी । महोत्तरीको जलेश्वरमा तीन दिनसम्म चलेको राष्ट्रिय स्वतन्त्र पार्टीको बैठकबाट राजनीतिक दस्ताबेजको प्रस्तावना पारित गरिएको छ ।

रास्वपाको केन्द्रीय र संसदीय दलको बैठकले राजनीतिक दस्ताबेजको प्रस्तावना पारित गरेको हो । प्रस्तावनामा रास्वपालाई सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक पार्टीका रूपमा चित्रित गरिएको छ ।

पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली अपनाउने रास्वपाको दस्ताबेजमा उल्लेख छ । जबाफदेहीपूर्ण असल शासनमार्फत समन्यायिक समावेशी समाज निर्माण गर्ने रास्वपाको लक्ष्य रहेको केन्द्रीय सदस्य डा. स्वर्णिम वाग्लेले बताउनुभयो । रास्वपाले पारित गरेको प्रस्तावनामा शान्तिपूर्ण मार्गबाट समाजवादका प्रधान लक्ष्यहरू प्राप्त गर्ने निर्देशक सिद्धान्त बनाएको उहाँले बताउनुभयो ।

वाग्लेले संसदीय निर्वाचन भएको एक वर्ष भित्र पार्टीको महाधिवेशन गर्नुपर्ने भएकाले मङ्सिर मसान्त भित्रै महाधिवेशनको प्रक्रिया सुरु गरिने जानकारी दिनुभयो । यसका लागि सङ्गठनात्मक स्वरूपको खाका तयार पार्नुका साथै विधान संशोधन चाँडै नै गरिने उहाँले बताउनुभयो । ‘‘राष्ट्रिय नीति तथा कार्यक्रमका आधारमा राज्य सञ्चालनको अठोटलाई संवैधानिक समाजवादका रूपमा व्याख्या गर्दै अप्रिय ऐतिहासिक विरासतका रूपमा विद्यमान लैङ्गिक, जातीय, वर्गीय, क्षेत्रीय लगायत सबै प्रकारका संरचनात्मक विभेदहरुविरुद्ध निर्णायक सम्बोधन गर्न अवसरहरूको न्यायिक वितरण, पहुँच र उपयोगमा जोड दिइनेछ,’’ पारित प्रस्तावनामा भनिएको छ ।

डा. वाग्लेले पार्टीको नीति नरहेको भनेर आलोचना गरिए पनि ती आरोपहरू आलोचना मात्रै भएको बताउनुभयो । उहाँले आफ्नो राजनीतिक, सामाजिक र आर्थिक खाका तयार पारेको बताउनुभयो । उहाँले मङ्सिर मसान्तबाट महाधिवेशनको प्रक्रिया सुरु गर्ने बताउनुभयो ।

बैठकबाट रास्वपाको केन्द्रीय समिति ५२ सदस्यीय बनेको छ । रास्वपाका १४ जना सांसदहरूलाई केन्द्रीय कार्यसमितिमा मनोनीत गरेपछि केन्द्रीय समिति सदस्यको कुल सङ्ख्या ५२ सदस्यीय पुगेको हो ।

केन्द्रीय सदस्यमा मनोनीत हुनेहरूमा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ, प्रमुख सचेतक सन्तोष परियार, सचेतक निशा डाँगी, सांसद मनिष झा, डा तोसिमा कार्की, शिशिर खनाल, हरि ढकाल, डा. स्वर्णिम वाग्ले, डा चन्दा कार्की, असीम शाह, लक्ष्मी तिवारी, अशोक कुमार चौधरी, शिव नेपाली र विनीता कठायत रहनुभएको छ । यसअघि सांसद रहेका सभापति रवि लामिछाने, उपसभापति डोलप्रसाद अर्याल, सोविता गौतम, सुमना श्रेष्ठ, गणेश पराजुली र विन्दवासिनी कंसकार गरी ६ जना मात्र केन्द्रीय सदस्य थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here