काठमाडौं । उच्च अदालतका इजलासहरु जुम्ला, महेन्द्रनगर, धनकुटा र हेटौँडा इजलासमा श्रव्यदृश्य संवादमार्फत मुद्दाको सुनुवाई (भिडियो कन्फ्रेन्स) बाट मुद्दाको सुनुवाइ सुरू भएको छ ।
सवोच्च अदालतले बिहीवार काठमाडौंमा एक कार्यक्रमबीच उच्च अदालतका इजलासहरु जुम्ला, महेन्द्रनगर, धनकुटा र हेटौँडा इजलासमा भिडियो कन्फ्रेन्सबाट मुद्दाको सुनुवाइ सुरू गरेको हो ।
कार्यक्रममा बोल्दै प्रधानन्यायाधीश श्रेष्ठले अब आ-आफ्नै घरबाट पनि न्याय पाउन सक्ने बताए । उनले नेपालको भूभाग र भूधरातलीय स्थिति हेरेर दुर्गमका जनताहरुलाई आवश्यक पर्ने न्यायको पहुँच सहज हुनका लागि यो काम गरिएको बताए ।
उनले यसभन्दा अघि सर्वोच्च अदालतले दिपायल उच्च अदालत र इलाम इजलासमा श्रव्यदृश्य संवादमार्फत मुद्दाको सुनुवाइ सुरू गरेको थियो । अब मुद्दाको फर्छ्योट चाँडै हुने, कम खर्चिलो हुने र न्यायमा पहुँच सरल हुने माध्यम बनेको बताए ।
उनले कानून व्यवसायीलाई पनि आफ्नै चेम्बरमा बसेर वहस गर्न सकिने फाइदा यस प्रविधिबाट हुने पनि बताए । उनले आगामी दिनमा थप अध्ययन गरी श्रव्यदृश्य संवादमार्फत मुद्दाको सुनुवाई गर्ने अभियान बिस्तार गर्ने बताए ।
प्रधानन्यायाधीश श्रेष्ठले छिटो, छरितो, सरल र सुलभ तपरिकाले न्याय सम्पादन र सबैलाई न्यायमा पहुँच पुर्याउन सहयोग पुग्ने उद्देश्य राखेको बताए ।

















