काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२३ मा आज वीरगञ्ज युनाइटेड एफसी र एफसी चितवन भिड्दैछन् । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे सुरु हुनेछ ।
जारी सिजन चितवन तेस्रो खेल खेल्दैछ भने र नयाँ टोली वीरगञ्जको यो दोस्रो खेल हुनेछ ।
नवप्रवेशी वीरगञ्ज एनएसएलको डेब्यु खेलमा धनगढी एफसीसँग पराजित भएको थियो । वीरगञ्जले धनगढीविरुद्ध राम्रो प्रदर्शन गरे पनि नतिजामा भने सफल रहेन । त्यसैले दुवै टोली आज पहिलो जित निकाल्ने लक्ष्यमा छन् ।
दुई खेलबाट चितवनको एक अंक छ र एक खेल खेलेको वीरगञ्ज अंकविहीन छ ।
छैटौँ स्थानमा रहेको चितवन र आठौँ स्थानको वीरगञ्ज आज जित निकाल्दै अंक तालिकामा सुधार गर्ने लक्ष्यमा हुने छन् ।


















