काठमाडौं । कर्पोरेट संस्था ह्वावेले जाजरकोट र रुकुमका भूकम्पपीडितहरूलाई राहत सामग्रीहरू उपलब्ध गराएको छ।
ह्वावेले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र डिजिटल एम्पावरमेन्ट सोसाइटीसँग मिलेर जाजरकोट र रुकुमका भूकम्पपीडितलाई राहत सामग्रीको रूपमा पाल, कम्बल, स्लीपिङ झोला जस्ता आवश्यक सामग्रीहरू उपलब्ध गराएको हो।
ह्वावे नेपालका सीईओ ह्वाङ जुन, पीआर निर्देशक झाङ लिआङ र डिजिटल एम्पावरमेन्ट सोसाइटीको उपस्थितिमा मन्त्रालयको कार्यालय सिंहदरबारमा मन्त्री रेखा शर्मालाई राहत सामग्री हस्तान्तरण गरिएको हो।
ह्वावेले भूकम्प प्रभावित क्षेत्रमा दूरसञ्चार साइटहरू कायम राख्न २४/७ नेटवर्क सेवा प्रदान गर्न ह्वावे समर्पित रहेको बताएको छ। ह्वावेले तुरुन्त भूकम्प प्रभावित क्षेत्रमा दूरसञ्चार सेवालाई निरन्तर सुचारु अवस्थामा राख्न आफ्नो प्राविधिक टिमलाई स्ट्यान्डबाइ राखेको जनाएको छ।
राहत सामग्री हस्तान्तरणपछि ह्वावे नेपालका सीईओ ह्वाङ जुनले भने,’म प्रभावित क्षेत्रका दिवंगत आत्माहरूप्रति गहिरो समवेदना प्रकट गर्न चाहन्छु र सञ्चार पूर्वाधारहरू सञ्चालनमा रहन, उद्धार र राहतको समन्वयलाई सहज बनाउन ह्वावे नेपालबाट निरन्तर सहयोगको आश्वासन दिन चाहन्छु। हामी नेपालका लागि नेपालमा छौं।’
ह्वावेले प्राकृतिक प्रकोपबाट प्रभावित क्षेत्रहरूमा तत्काल राहत सामग्री उपलब्ध गराउन सधैं अग्रगामी भूमिका खेलेको छ ।


















