काठमाडौँ । सरकारले विभिन्न २५ वटा आवश्यक सेवामा हडताल गर्न निषेध गरेको छ । सरकारले राजपत्रमा सूचना प्रकाशन गर्दै हडताल निषेधित क्षेत्रको सूची सार्वजनिक गरेको हो। आवश्यक सेवा सञ्चालन ऐन २०१४ को दफा ३ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गर्दै गृह मन्त्रालयले विभिन्न २५ वटा आवश्यक सेवामा हडताल गर्न निषेध गरेको सूचना राजपत्रमा प्रकाशित गरेको छ।
त्यसै गरी प्रिन्ट वा सरकारी छापाखानासम्बन्धी सेवा, हातहतियार खरखजाना वा अरू कुनै सैनिक सरसामानको उत्पादन गर्ने, थन्क्याउने, वितरण गर्ने कामसँग सम्बन्धित नेपाल सरकार रक्षा व्यवस्थाको कुनै सेवा आन्तरिक सुरक्षा कार्यसँग सम्बन्धित सेवा, खानेपानीको सञ्चालन तथा वितरण सेवा, पर्यटन आवास, मोटेल, होटेल, रेस्टुराँ र रिसोर्टसम्बन्धी सेवालाई हडताल निषेधित क्षेत्रका रूपमा घोषणा गरिएको राजपत्रमा उल्लेख छ।
त्यसै गरी बैङ्किङ क्षेत्र, विमान सेवा, विद्युत् सेवा, दैनिक उपभोग्य वस्तुहरूको पैठारी, ढुवानी भण्डारण तथा वितरणसम्बन्धी सेवा, मौसम पूर्वानुमान तथा पूर्वसूचना सेवा, माक्ससम्बन्धी सेवा, ह्यान्ड सेनिटाइजरसम्बन्धी सेवा, भेटेरिनरी सेवा, कन्सुलर सेवा विभागबाट प्रदान हुने सेवा, राहदानी विभागबाट प्रदान हुने सेवा र इन्टरनेट सेवालाई हडताल गर्न निषेधित घोषणा गरेको हो। गोरखापत्र

















