धनकुटा । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले कोशी प्रदेशका १४ जिल्लामा अप्टिकल फाइबर नेटवर्कमार्फत दु्रतगतिको इन्टरनेट सेवा सुरु गरेकी छन् ।
सूचना र प्रविधिको क्षेत्र सरकारले विशेष प्राथमिकता दिएको उल्लेख गर्दै मन्त्री शर्माले भनिन्, “सरकारले सूचना प्रविधिको विकास र प्रयोगलाई उच्च प्राथामिकतामा राखेको छ, यस्ता विषयलाई सरकारले आफ्नो नीति तथा कार्यक्रममा समेत राखेको छ ।”
यस वर्ष सरकारले ताप्लेजुङ, बझाङ, बाजुरा, रुकुम पश्चिम, जुम्ला र कालिकोटमा सेवा विस्तार गरेर ७३ जिल्लामा अप्टिकल फाइबरमा आधारित ‘फाइबर टु द होम’ सेवा पु¥याएको मन्त्री शर्माले जानकारी दिनुभयो । उनले चाँडै बाँकी जिल्लामा पनि सेवा विस्तार गरिने जनाइन् ।
अप्टिकल फाइबरमा आधारित ‘फाइबर टु द होम’ सेवा विस्तारलाई सरकारले विशेष जोड दिएको जनाउँदै मन्त्री शर्माले यसै योजनाअन्तर्गत नेपाल टेलिकमबाट सुरु गरिएको फोरजी सेवा सात सय ३९ स्थानीय तहमा पुर्याइएको जानकारी दिइन् ।
एनसेल मोबाइल प्रकरणमा सरकारले छानबिन टोली गठन गरेको जानकारी दिँदै मन्त्री शर्माले सबैलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरिन् ।


















