काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानमार्फत् अपनाइएको संघीयतालाई व्यावहारिक रुपमै सफल बनाउन लाग्नुपर्ने जनाएका छन्।
पार्टीको ‘झुलाघाट-चिवाभञ्ज्याङः समृद्धिका लागि संकल्प यात्रा’ यात्राका सन्दर्भमा आइतबार सञ्चारकर्मीसँग संवाद गर्दै उनले संघीयताको कार्यान्वयन हुन थालेको ५/६ वर्षमै यसको पक्ष विपक्षमा तर्क गर्न आवश्यक नरहेको जनाए ।
‘कुनै सेन्टिमेन्टल हिसाबले, कुनै पक्षधरताका साथ, यो वा त्यो पक्षमा उभिएर, यसो गर्ने भन्ने पहिल्यै निष्कर्ष निकालेर होइन, बिना निष्कर्ष हामी यसलाई (संघीयतालाई), यो नभई हुँदैन र हुनै हुँदैन भन्ने खालका कुराभन्दा, यसलाई सफल पार्नेतिर जाऔं’, उनले भने, ‘सफल हुनै सकेन भने त के गर्ने? लोकतन्त्र नै त्यसैले मर्ने त होइन। त्यसैले सफल हुनै सकेन भने त्यसको कुरा हो।’
उनले आठ वर्षअघि संविधान बनाउँदा संघीयताको प्रवर्द्धन गरेको भए पनि त्यसको कार्यान्वनयमा केही समय लागेको बताए। २०७४ को चुनावपछि कानुन निर्माण र संरचना निर्माण गर्न समय लागेको बताए। २०७४ को चुनावपछिको कार्यकालको आधा समय संरचना बनाउँदा र यताउता गर्दा बितेको उनको भनाइ थियो। पछिल्लो निर्वाचनपछिको कार्यकालको आधा समय पनि नभएको उनको धारणा छ।


















