काठमाडौं । काठमाडौंमा जारी दोश्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा प्लेअफ खेलहरु आज (सोमबार) बाट शुरु हुँदैछ ।
पोखरा थन्डर्स शीर्ष, धागढी एफसी दोश्रो, काठमाडौं रेजर्स तेश्रो र ललितपुर सिटी एफसीले चौंथो स्थानमा रहँदै यस पटक एनएसएलको प्लेअफ खेल्दै छन् ।
आज हुने पहिलो क्वालिफायर खेलमा पोखरा र धनगढी भिड्दै छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा हुने यी दुई टोलीबीचको खेल साँझ ५स्३० बाट शुरु हुनेछ ।
प्लेअफ खेलअघि आईतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै पोखरा थन्डर्सका मुख्य प्रशिक्षक नवीन न्यौपानेले शीर्ष चार टोलीलाई बधाई दिदै प्लेअफ खेल सहज नहुने धारणा राखेका थिए ।
प्रशिक्षक न्यौपानेले प्लेअफमा पुगेका चारै टोली उत्कृष्ट सेटमा रहेको भन्दै जसले अवसरको सदुपयोग गर्न सक्छ उसैले खेल जित्ने प्रतिक्रिया दिएका थिए।
उनले चुनौतीबीच आफ्नो टोली धनगढीसँगको खेलका लागि तयार भएको बताएका थिए। पोखराका कप्तान दिनेश राजवंशीले टोलीलाई फाइनल पुर्याउने लक्ष्यलाई सार्थक बनाउने गरि खेल्ने बताएका थिए ।
यस्तै धनगढी एफसीका मुख्य प्रशिक्षक युगलकिशोर राईले भने गत संस्करणको गल्तीलाई रोहोरिन नदिने भन्दै यसपटक उपाधि जितेरै छाँड्ने धारण व्यक्त गरेका थिए । गत सिजनको फाइनलमा काठमाडौं रेजर्ससँग पराजित हुँदै धनगढी उपाधिबाट बञ्चित बनेको थियो ।
धनगढीका कप्तान देवेन्द्र तामाङले सोमबार पोखरालाई हराउँदै फाइनलमा पुग्ने रणनितीका साथ मैदानमा उत्रिने बताएका थिए। यसअघि जारी सिजनकै लिग चरणको भेटमा यी दुई टोलीले १-१ को बराबरी खेल्दै अंक बाँढेका थिए।
पोखरा र धनगढीबीचको पहिलो क्वालियफायरको विजेताले सिधै फाइनलमा स्थान बनाउनेछ भने पराजित हुने टोलीले दोस्रो क्वालिफायर खेल्ने मौका पाउनेछ।
मंगलबार हुने इलिमिनेटर खेलमा साविक विजेता तथा तेश्रो स्थानको काठमाडौं रेजर्स र चौथो स्थानको ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा हुनेछ।
यो खेलको विजेता टोलीले फाइनल प्रवेशका लागि पहिलो क्वालिफायर खेलको पराजित टोलीसँग दोश्रो क्वालिफायर खेल्ने छ ।
यसअघि लिग चरणको अन्तिम खेलमा भएको यी टोलीबीचको भेटमा ललितपुर काठमाडौंसँग १-० गोलले पराजित भएको थियो । काठमाडौं र ललितपुरबीचको इलिमिनेटर खेलको पराजित टोली भने प्रतियोगिताबाट बाहिरीने छ ।


















