रुसी सेनामा भर्ना हुन पठाएको आरोपमा ३ जनाविरुद्ध मुद्दा दर्ता

42

काठमाडौं ।  रुसी सेनामा भर्ना हुन पठाएको आरोपमा पक्राउ परेका १३ जना मध्ये ३ जनाविरुद्ध मात्रै मुद्दा दर्ता भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान सकेर सरकारी वकिल कार्यालयमा पठाएको फाइल अनुसार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ।

ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका–६ घर भइ काठमाडौं गोकर्णेश्वर बस्दै आएकी २५ वर्षीया सुजता दाहाल, सुजताका श्रीमान् तथा एप्पल एजुकेशन कन्सल्टेन्सी र युजिन मल्टिपर्पोज कन्सल्टेन्सीका सञ्चालक सुमनकुमार लिम्बू, उक्त कन्सल्टेन्सीका कर्मचारी तथा बाराको जितपुर सिमरा उपमहानगरपालिका–२ सिमरा घर भएका २४ वर्षीय सन्तोष नेपाल र अर्का कर्मचारी नवलपरासीको बर्दघाट नगरपालिका–१० का २१ वर्षीय दीपेश अधिकारीविरुद्ध मुद्दा दर्ता भएको छ।

उनीहरुविरुद्ध २ वटा फरक–फरक ठगीका मुद्दा दायर भएका छन्। यी ४ जनामध्ये ३ जना पक्राउ परेका छन्। दीपेश अधिकारीलाई भने फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ।

सुजता, उनका श्रीमान सुमन र कन्सल्टेन्सीका स्टाफ सन्तोषविरुद्ध ६५ लाखको ठगीमा एउटा मुद्दा दर्ता भएको छ। जसमा सरिता थापाबाट ७ लाख ८० हजार, सागर आचार्यबाट १० लाख ७० हजार, सिताराम तामाङबाट ८ लाख ५० हजार, सुशन तामाङबाट ७ लाख ५० हजार, प्रज्वल केसीबाट ७ लाख ५० हजार, ललिता खड्काबाट १० लाख, दुर्गा श्रेष्ठबाट १३ लाख गरी ६५ लाख ठगी गरिएको दाबी गरिएको छ। उनीहरुलाई विदेश पठाउने भनेर रकम लिएर ठगी गरिएको दाबी छ।

त्यस्तै, सुजाता, सन्तोष र दीपक अधिकारी (फरार) लाई प्रतिवादी बनाएर अर्को ठगीको मुद्दा दायर गरिएको छ।

यसमा नवीन तामाङको ६ लाख ५४ हजार १५०, समीरबहादुर सहकारीको २ लाख ९९ हजार, युकेश राईको ९ लाख १२ हजार गरी १८ लाख ६५ हजार १५० रुपैयाँ ठगिएको भन्दै मुद्दा दर्ता भएको छ।

यसअघि ठगीको उजुरी परेकाहरु सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–२ घर भएका २३ वर्षीय मनिष न्यौपाने र लमजुङको दोर्दी गाउँपालिका–२ घर भइ टोखा बस्दै आएका ३५ वर्षीय ईश्वरप्रसाद अधिकारीविरुद्ध भने मुद्दा चलाइएको छैन। ठगिएको भन्दै जाहेरी दिएकाहरुको रकम फिर्ता गरेर मिलापत्र गरेकाले मुद्दा नचलाइएको प्रहरीले जनाएको छ।

नेपाली युवालाई अवैध रुपमा रुसी सेनामा भर्ती गर्न पठाएको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौंले सुरुमा १२ जना र पछि २ जना गरी १४ जनालाई पक्राउ गरेको थियो। उनीहरु मध्ये ६ जनाविरुद्ध मात्रै उजुरी परेको थियो। प्रहरीले सुरुमा १२ जनालाई पक्राउ गरेर सार्वजनिक गर्दा उनीहरुविरुद्ध एउटा पनि उजुरी परेको थिएन।  जसकारण प्रहरीले सुरुवाती क्रममा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अभद्र व्यवहारको कसुरमा म्याद लिएर अनुसन्धान गरेको थियो। तर पछि पक्राउ परेकामध्ये ६ विरुद्ध जाहेरी आएको आएको थियो।  पक्राउ परेका मध्ये शंकर लिम्बूविरुद्ध भने मानव बेचबिखन तथा ओसारपसारको कसुरमा जाहेरी परेको छ।

पक्राउ परेकामध्ये ८ जनाविरुद्ध भने अहिलेसम्म कुनै उजुरी नआएको प्रहरीले जनाएको छ। उदयपुरको कटारी नगरपालिका–६ का ४२ वर्षीय हरिबहादुर विश्वकर्मा, काठमाडौंको जोरपाटीका २७ वर्षीय सन्तोष रोका, काठमाडौं–१६ का २३ वर्षीय रोजल महर्जन, काठमाडौं बुढानीलकण्ठ–१३ का ३१ वर्षीय क्षितिज गिरी, सिरहाको गोलबजार नगरपालिका–३ का १९ वर्षीय दीपेन परियार, काभ्रेको सल्लेभम्लु गाउँपालिका–१ का २९ वर्षीय सुवास लामा, चितवनको राप्ती नगरपालिका–१ का २५ वर्षीय गोकर्ण अर्याल र दाङको घोराही उपमहानगरपालिका–८ का ३८ वर्षीय द्रोण डाँगीविरुद्ध अहिलेसम्म कुनै उजुरी नआएको परिसरका डीएसपी अंगुर जिसीले जनाए ।

यो समूहले नेपालीहरुलाई भिजिट भिसामा दुबई पुर्‍याउने र त्यहाँबाट रुस पुर्‍याएर रुसी सेनामा भर्ना गराउने गरेको प्रहरीले जनाएको छ। यस्तै, काठमाडौंबाट भारत लगेर त्यहाँबाट तेस्रो मुलुक हुँदै पनि रुस पुर्‍याएर रुसी सेनामा भर्ना गराउने गरेको पाइएको प्रहरीले जनाएको छ।

रुसी सेनामा भर्ना भएपछि २ लाख रुपैयाँसम्म तलब हुने, छिट्टै ग्रिनकार्ड हुने भन्ने प्रलोभन देखाएर पठाउने गरेको पाइएको छ। यो गिरोहले विभिन्न माध्यममार्फत् रुसी सेनामा भर्ना हुन भन्दै विज्ञापन गर्ने र एउटा समूह बनाएर भिसा प्रोसेसिङ गर्ने गरेको अनुसन्धानबाट खुलेको छ। यसरी विभिन्न प्रोसेसमार्फत् रुस पठाए बापत एक व्यक्तिबाट १४ लाख रुपैयाँसम्म यो गिरोहले लिने गरेको दाबी गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here