विराटनगर । ११ माघमा हुने राष्ट्रिय सभा निर्वाचनका लागि कोशी प्रदेशमा २ सिटका लागि निर्वाचन हुँदैछ । उक्त पदमा सत्ता गठबन्धनमा रहेका दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रमा उम्मेदवार बन्न आकांक्षीहरुको ठूलो समूह देखिएको छ ।
कोशीबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने रमेशजंग रायमाझी (कांग्रेस) र बिना पोखरेल (माओवादी केन्द्र) को पदावधि २० फागुनमा सकिदैछ । कोशीमा अन्य क्लस्टरको उम्मेदवार कांग्रेसले र महिला क्लस्टरको उम्मेदवार माओवादी केन्द्रले पाउने सत्तारुढ गठबन्धनमा समझदारी रहेको नेताहरुले बताएका छन् ।
कांग्रेसको कोशी प्रदेश समितिले ६३ जनाको नाम सिफारिस गर्दा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाका लागि छुट्टै सिफारिस नोट पठाएको थियो ।
नेकपा एमालेले भने नाम सिफारिस गर्ने विषयमा छलफल गरेको छैन । एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले २० पुसभित्र नाम सिफारिस गर्ने गरी आन्तरिक छलफल भइरहेको बताए । प्रदेश कमिटीले आकांक्षीका विषयमा छलफल गरिरहेको बताउँदै उनले छलफलपछि नाम सिफारिस गर्ने जानकारी दिए । कोशी प्रदेशमा राष्ट्रिय सभाका लागि स्थानीय तहका २७४ र प्रदेशका ९३ सांसद गरी जम्मा ३६७ मतदाता छन् ।
कोशीमा एमालेको ४ हजार २१०, नेपाली कांग्रेसको ३ हजार ७२२, माओवादी केन्द्रको १ हजार २७८, एकीकृत समाजवादीको ३४५, जनता समाजवादीको १२९, राप्रपाको ३९४ र स्वतन्त्रको ५७ मतभार छ ।