काठमाडाैं । वैदेशिक रोजगारीको शिलशिलामा कोरिया जान माग गर्दै आन्दोलन गरिरहेका युवाहरुमाथि ललितपुरको वालकुमारी ग्वार्कोमा शुक्रबार पुस १३ गते प्रहरीको कुटपिट तथा गोली प्रहारबाट दैलेखका सुजन रावत र डोटीका वीरेन्द्र साहको निधन भएको छ । हामी प्रहरी दमनको घोर भत्र्सना गर्दछौँ ।
नेपाली इतिहासको विडम्बनापूर्ण तथ्य यो हो कि प्रत्येक पटकका आन्दोलन र सरकार परिवर्तनसँगै देशका राष्ट्रिय उद्योगहरु बन्द गरिदै आएका छन् । शिक्षा क्षेत्रमा भएको निजीकरण, व्यापारीकरण र माफीयाकरणले आम जनता र लाखौँ युवाहरुलाई शिक्षाबाट बन्चित गरेको छ । रोजगारीको अभावमा सिमित शिक्षित युवा पनि विदेशीन बाध्य भएका छन् । देश विदेशी माल बेच्ने बजार बनेको छ भने युवाहरुलाई विदेशीका नोकर बनाइएका छन् । जसको परिणाम देशको आर्थिक, सामाजिक अवस्था यति भयावह बन्दै गएको छ कि सरकारी नीति अनुरुप विदेवशनका लागि पनि नेपाली युवाहरुले प्रहरीको गोली खान विवस बनेका छन् । त्यसमाथि वैदेशिक रोगगारीमा समेत भएको एकाधिकार र माफियाकरणबाट पीडित देशका कुनैपनि नागरिक यो राज्य प्रणालीबाट कति असुरक्षित छन् भन्ने तथ्य यस घटनाबाट उजागर भएको छ । देशको वर्तमान राजनीतिक तथा आर्थिक प्रणाली नबदींलदासम्म देश र जनताको यो अवस्था झन् जटिल बन्दै जान अनिवार्य छ ।
सर्वविदित कुरा यो छ कि यो अवस्थाको अन्त्य हुनका लागि वर्तमान राज्यसत्ता र व्यवस्थाकै अन्त्य हुनु आवश्यक छ । अतः गाँस, वास, कपास, स्वास्थ्य, शिक्षा र रोजगारीको सुनिश्चितता सहित जनताको भयावह अवस्था बदल्ने वास्तविक राजनीतिक व्यवस्था ‘जनगणतन्त्र नेपाल’को स्थापना हो । हाम्रो पार्टी आम जनता र सम्पूर्ण युवा पंक्तिमा यसको ऐतिहासिक पहलकदमी लिन र सशक्त आन्दोलनमा उत्रन हार्दिक अपील गर्दछ ।
यो अवस्थाको पुनरावृत्ति रोक्नका लागि प्रत्येक पालिकामा रोजगारीको अवसर सृजना गर्ने न्यूनतम् एउटा सरकारी उद्योग स्थापना गरियोस् तथा बन्द उद्योगहरु सुचारु गर्ने घोषणा गरियोस् ।
संघर्षका कार्यक्रमहरु
पुस १७ गते वैदेशिक रोजगार विभागमा विरोधसभा
पुस १८ गते उपत्यकामा सडक अन्तरक्रिया
पुस १९ गते उपत्यकामा विरोधसभा
पुस २० गते देशव्यापी कोणसभा
पुस २२ गते चक्काजाम (बिहान १० देखि १०ः३०)
पुस २३ गते सिठ्ठी जुलुस (उपत्यका)
पुस २४ गते उपत्यका रिङरोड परिक्रमा (मोेटर साइकल)
पुस २५ गते देशव्यापी दलाल संसदीय व्यवस्थाको पुत्लादहन


















