एजेन्सी । ब्राजिलका फुटबल लिजेन्ड मारियो जगालोको ९२ वर्षको उमेरमा निधन भएको छ। खेलाडी र प्रशिक्षकका रुपमा ब्राजिललाई ४ पटक विश्व विजेता बनाएका जगालोको शनिबार निधन भएको हो।
जगालो ब्राजिलले १९५८ देखी १९६२ सम्म लगातार विश्वकप जित्दा टिमका सदस्य रहेका थिए। ब्राजिलको सर्वकालिन महान पुस्ताका एक खेलाडीका रुपमा जगालो उक्त टिममा रहेका थिए। ब्राजिलको सर्वकालिन महान टिम मानिएको उक्त समयमा पेले, जर्जिन्हो र कार्लोस अल्बेर्टो लगायतका खेलाडीहरू रहेका थिए।
जगालो खेलाडी र प्रशिक्षकका रुपमा विश्वकप जित्ने पहिलो ब्यक्तिका रुपमा रहेका थिए। उनी पछि जर्मनीका फ्रान्ज बेकेनबाउर र फ्रान्सका डिडियर डेसच्याम्पले यो उपलब्धि हासिल गरे।
ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले ब्राजिलले महान सन्तान गुमाएको बताए। उनले भने ‘सर्वकालिन महान फुटबल खेलाडी र प्रशिक्षक हामीले गुमाएका छौं।’


















