सचित्र स्मरण भनेको ‘फोटोग्राफिक मेमोरी’ हो । कुनै पनि मानिसले एकपटक सरर्र देखेका वा हेरेका आधारमा कुनै पनि कुरा स्मरण गर्नसक्छ । यो जादु वा मन्त्र होइन । यो विशिष्ट स्मरण शक्तिको कमाल हो ।
हेरेका किताबका पेज र केही लाइन पनि भन्न सक्छन्, सचित्र स्मरण शक्ति भएका मानिसले । झट्ट हेर्दा र सुन्दा यसले मानिसलाई आश्चर्यमा पार्छ पनि । साच्चिकै एकपटक हेरेको, पढेको तथा सुनेको भरमा जस्ताको तस्तै स्मरण गर्ने भनेको दैवी शक्तिझैं लाग्छ । मनोविद्का अनुसार विलक्षण मानिसले सचित्र स्मरण वा ‘मेमोरी टेक्निक’ प्रयोग गरेर यस्ता कुरा सम्भव हुने र भएको देखाएका छन् ।
सचित्र स्मरण एक संज्ञानात्मक मनोविज्ञान हो भनिन्छ । तर पनि मनोविज्ञानकै क्षेत्रमा यसलाई स्वीकार भने गरिएको छैन । किनकि मनोविद्हरूले यस किसिमको मानसिक क्षमता हुने कुरा आजसम्म पुष्टि हुन नसकेको भनेका छन् ।
बरू मनोविद्हरूले यस्ता मानिसका दिमागमा आफूले पढेका, लेखेका र देखेका कुरा लिपिबद्ध हुने कुरा स्वीकार भने गरेका छन् । उनीहरूको दिमागमा सचित्र स्मरण रहेको हुन्छ । साँच्चै उनीहरूको दिमागमा यस्ता कुरा रंगीन र लिपिबद्ध भइरहने गर्छ । सचित्र स्मरण भएका मानिसका लागि यो कुरा सामान्य भए पनि सर्वसाधारणका लागि भने आश्चर्यको विषय नै बन्छ ।
आज पनि संसारभर यस्ता मानिस रहेका छन् । नेपालका कालिकोटे विद्यार्थी विजय शाहीको यस्तै स्मरण शक्तिका कारण एक समय चर्चामा आएका थिए । उनले रामायणजस्ता ठूला र मोटा किताब केही समय हेरेर बन्द गरेपछि अरूले किताब हेरेर जहाँबाट पनि सोध्दा हुबहु स्मरण गर्ने गरेपछि यो सबैका लागि आश्चर्यको विषय बनेको थियो ।
सचित्र स्मरण कला र क्षमता हो । यो जन्मदा लेखिएको कुरा होइन । मनोविद्का अनुसार यस्ता कला सचित्र स्मरण भएका ७–८ वर्षका बालकालिकाले पनि सजिलै प्रदर्शन गर्न सक्छन् ।
भनिन्छ, वैदिक कालमा सचित्र स्मरणको अभ्यास नै गरिन्थ्यो । यो पछि पाठ घोक्ने र कण्ठ पार्ने चलनमा परिणत भयो । वेदकालीन समयमा ऋषिमुनि तथा उनका चेलाहरूले ‘वैदिक सचित्र स्मरण’द्वारा ठूलाठूला ग्रन्थका श्लोक, ऋचा र पाठ कण्ठस्त स्मरण गर्थे ।
ग्रिकमा सचित्र स्मरण शक्तिको खेती नै भएको मानिन्छ । त्यतिबेला सचित्र स्मरणले उल्का मच्चाएको थियो । पछिल्ला समयमा यसप्रतिको मोह पनि घट्यो र चर्चा पनि हुन छाड्यो । प्रविधिको विकाससँगसँगै यसको महत्वमा पनि कमी आउँदै गयो ।
विशेषज्ञका अनुसार यस्तो क्षमता विकासका लागि आँखा, कान, नाक, जिब्रो तथा छालाजस्ता पाँचवटै ज्ञानेन्द्रीयको एकीकृत संयोजन आवश्यक पर्छ । नेपालमा ‘प्रेमवाद’को सिद्धान्त सिर्जनामा लागेका स्वामी विवेकानन्दले पनि यो क्षमता र सीपको विकास गर्नतर्फ अग्रसर भएको देखिन्छ । उनका चेलाहरूले धेरै कुरा स्मरण गर्नसक्ने र पढेर सुनाउनसक्ने क्षमता राखेको पाइन्छ ।
मनोविद्ले सामान्य मानिसले १ मिनेटमा ३ सय शब्द पढ्नसक्ने बताउँछन् । तर, सचित्र स्मरण भएका मानिसले १ मिनेटमा १ हजार ५ सय शब्दसम्म पढ्न सक्छन् । विलक्षण सचित्र स्मरण भएका मानिसले त १ मिनेटमा १०औं हजार शब्द पढ्न सक्ने मनोविद् स्वीकार गर्छन् । उनीहरूका अनुसार एउटा शब्द हेर्न र भण्डारण गर्न शून्य दशमलव ३ सकेन्ड समय लाग्छ ।
(मेमोरी, सचित्र स्मरण र गुगलको सहयोगमा)


















