काठमाडौं । चीनले पृथ्वीदेखि प्रत्यक्ष नदेखिने चन्द्रमाको अन्धकार भागबाट सङ्कलन गरिएको माटोको नमुना पहिलोपटक रुसी वैज्ञानिकहरूलाई उपलब्ध गराएको छ ।
चीनको चाङ्ए–६ चन्द्र अभियानले सङ्कलन गरेको १ दशमलव ५ ग्राम माटो जुन ३ मा रुसको अन्तरिक्ष अनुसन्धान संस्थान अन्तर्गतको ग्रह भौतिक शास्त्र विभागलाई हस्तान्तरण गरिएको हो ।
वैज्ञानिकहरूले उक्त नमुनाको रासायनिक तथा खनिज संरचनाको विस्तृत अध्ययन गर्नेछन् । विशेष गरी चन्द्रमाको माटोभित्र खनिजहरूमा सुरक्षित रहेका हुन सक्ने वाष्पशील (भोलाटाइल) यौगिकहरूको खोजीमा अनुसन्धान केन्द्रित हुने बताइएको छ।
यस्ता यौगिकहरूको पहिचान हुन सकेमा चन्द्रमाको उत्पत्ति र विकासक्रमबारे थप जानकारी प्राप्त गर्न मद्दत पुग्ने विश्वास गरिएको छ। साथै भविष्यमा चन्द्रमामा आत्मनिर्भर मानव बस्ती स्थापना गर्ने योजनाका लागि पनि यसले महत्त्वपूर्ण वैज्ञानिक आधार प्रदान गर्न सक्छ।
चीनको चाङ्ए–६ अभियानले सन २०२४ मा चन्द्रमाको अँध्यारो हिस्साबाट सफलतापूर्वक नमुना सङ्कलन गरेर पृथ्वीमा ल्याएको थियो । यो उपलब्धि हासिल गर्ने चीन विश्वकै पहिलो देश बनेको थियो।


















