मातृ भाषाको पाठ्यक्रम पढ्नेहरुको संख्यामा कमी

72

काठमाडौं । पाठ्यक्रम विकास केन्द्रले विद्यालय तहमा मातृ भाषाको पाठ्यक्रम पढ्नेहरुको संख्यामा कमी देखिएको बताएको छ।

बिहीबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा बोल्दै पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक बैकुण्ठप्रसाद अर्यालले मातृभाषाको पाठ्यक्रम पढ्नेहरुको संख्या कम रहेको बताएका हुन्।

उनले संविधानले मातृ भाषामा शिक्षा लिन पाउने हक सुनिश्चित गरेअनुरुप पाठ्यक्रम विकास केन्द्रले मातृ भाषामा पढाउन पाठ्यक्रम बनाएर लागू गर्दासमेत मातृ भाषामा पढ्नेहरुको संख्यामा कमी देखिएको उल्लेख गरे।

उनले कुनै भाषाको पाँच/सात सय पुस्तक छपाइ गर्दा वर्षौँसम्म पनि किताब किन्न आउनेहरु नभएका बताए। उनले मातृ भाषामा शिक्षा दिने कुरा प्रभावकारी बन्न नसकेको बताए।

महानिर्देशक अर्यालले गणित, विज्ञान र कम्प्युटर शिक्षा अंग्रेजीमा पढाउनुपर्ने नीतिगत व्यवस्था गर्नु नहुने बताए। उनले आधारभूत तह १–५ का शिक्षकहरु अझै पनि अंग्रेजी माध्यममा पठनपाठन गराउन सक्ने अवस्थामा नभएको भन्दै यो प्रावधान प्रभावकारी हुन नसक्ने दाबी गरे।

उनले राष्ट्र र राष्ट्रियताप्रति बफादार बनाउने गरी पाठ्यक्रम बनाउनुपर्ने आवश्यकताको महसुस भएको भन्दै सोहीअनुरुप पाठ्यक्रमहरु परिमार्जन गर्न तयारी गरिरहेको पनि बताए।

उनले पाठ्यक्रम राम्रो बनाएर मात्र नहुने भन्दै त्यसको कार्यान्वयन पक्ष राम्रो हुनुपर्नेमा जोड दिए। उनले नेपालको पाठ्यक्रम दक्षिण एशियाको अन्य देशहरुसँग समानजस्तै रहेको उल्लेख गर्दै नेपाली पाठ्यक्रम कमजोर नभएको जिकिर गरे।

महानिर्देशक अर्यालले पाठ्यक्रम विकास केन्द्रले प्राविधिक धारका २१ वटा र मातृभाषाका ३१ वटा पाठ्यक्रम बनाएको पनि जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here