कोपेनहेगन । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का एक प्रमुख अधिकारीले युरोपमा श्वासप्रश्वाससम्बन्धी रोगका बढ्दो घटनालाई मध्यनजर गर्दै सतर्कता अपनाउन आग्रह गरेका छन् ।
डब्ल्यूएचओका युरोप क्षेत्रीय निर्देशक हान्स हेनरी पी क्लुजले कोपनहेगनमा आयोजित पत्रकार सम्मेलनमा इन्फ्लुएन्जाको सङ्क्रमण र अस्पताल भर्ना हुनेको सङ्ख्यामा वृद्धि भएको उल्लेख गर्दै आगामी हप्ताहरूमा सम्भावित वृद्धिको सामनाका लागि तयारी गर्न अस्पताल तथा स्वास्थ्य केन्द्रसहित सम्वद्ध सङ्घसंस्थालाई आग्रह गरे ।
इन्फ्लुएन्जा भाइरस र कोरोना भाइरसलगायत चिसोबाट हुने विभिन्न सङ्क्रमणहरू अहिले नेदरल्याण्ड्सको जनसङ्ख्यामा ‘सामान्य’ भएको आरआईभीएमले जनवरी १० सम्मको आफ्नो पछिल्लो अपडेटमा जनाएको छ । आरआईभीएमले चिसोजन्य समस्याका कारण सङ्क्रमण भएकोजस्ता लक्षण देखिएका व्यक्तिको सङ्ख्या बढ्दो क्रममा रहेको बताएको छ ।
आरआईभीएमका अनुसार हालैको तथ्याङ्कले इन्फ्लुएन्जा भाइरसको घटनामा पनि वृद्धि भएको देखाएको छ । तथ्याङ्कमा फ्लुजस्ता लक्षण देखिएका व्यक्तिहरूको लगभग ३५ प्रतिशत नमूनाहरूमा सङ्क्रमणका कारण श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको थियो । अघिल्लो हप्ता यो दर १३ प्रतिशत रहेको थियो ।
इटालीका स्वास्थ्यकर्मीहरूले गत शुक्रबार इटालीमा कम्तीमा १५ वर्षयताकै सबैभन्दा खराब फ्लु लहरका कारण अस्पतालहरू चर्को दबाबमा रहेको बताएका छन् । इटालियन फेडेरेसन अफ हेल्थ अथोरिटीज एन्ड हस्पिटल्स (एफआईएएसओ) का अनुसार गत साता आपतकालीन कक्षमा भर्ना हुनेको सङ्ख्या २० देखि ३० प्रतिशतले बढेको छ ।
नयाँ वर्षको सुरुवातदेखि नै कोभिड-१९ र फ्लुको सङ्क्रमण तीव्र रूपमा बढेपछि स्पेन सरकारले जनवरी १० देखि अस्पताल र स्वास्थ्य केन्द्रहरूमा मास्कको अनिवार्य प्रयोगलाई पुनः लागू गरेको छ । स्पेनमा श्वासप्रश्वाससम्बन्धी रोगहरूमा तीव्र वृद्धि भएको छ र बासिन्दाहरूमा सङ्क्रमण दर प्रति एक लाखमा ९५२ भन्दा बढी पुगेको छ । स्वास्थ्यमन्त्री मोनिका गार्सियाले गत हप्ता ‘चिसोजन्य सङ्क्रमण अत्यधिक भएको चेतावनी दिएका थिए ।
मंगलबार कोपनहेगनमा आयोजित पत्रकार सम्मेलनमा क्लुजले जोखिममा रहेको जनसङ्ख्यालाई कोभिड-१९ र इन्फ्लुएन्जाको खोपमा अद्यावधिक राख्नुपर्ने बताएका थिए । उनले सन् २०२० को डिसेम्बरमा कोभिड–१९ विरुद्धको खोप सार्वजनिक भएयताको महत्वपूर्ण सफलता मिलेको पनि बताए ।
डब्ल्यूएचओको अध्ययनअनुसार ६० वर्षमाथिका व्यक्तिका लागि यो खोप प्रभावकारी देखिएको छ, खोपले ९० प्रतिशतभन्दा बढी ज्यान बचाएको छ । सन् २०२० को डिसेम्बरमा खोप प्रयोग सुरु भएयता डब्ल्यूएचओको यूरोपेली क्षेत्रमा कोभिड–१९ का कारण हुने मृत्युमा ५७ प्रतिशतले कमी आएको छ र पहिलो बुस्टर डोजले मात्र अनुमानित सात लाख मानिसको ज्यान जोगाएको छ ।
यद्यपि, क्लुजले कोभिड–१९ जेएन–१ संस्करणको तीव्र फैलावटप्रति चिन्ता व्यक्त गर्नुभयो ।


















