एमाले–राप्रपा गठबन्धनले कोशी प्रदेशमा चुनाव प्रचार

26

काठमाडाैं । निर्वाचन आचारसंहिता लत्याउँदै सत्ता गठबन्धन र एमाले–राप्रपा गठबन्धनले कोशी प्रदेशमा चुनाव प्रचार र भेला जारी राखेका छन्।

बिहीबार राष्ट्रिय सभा चुनाव हुँदैछ। यही क्रममा सत्ता गठबन्धनले विराटनगरस्थित कोइराला निवासमा बुधबार बिहान चियापानको बहानामा राष्ट्रिय सभा उम्मेदवार र मतदाता भेला गरेको छ। सत्ता गठबन्धनको विपक्षमा अर्को मोर्चा बनाएका एमाले र राप्रपाले पनि विराटनगरस्थित होटल ह्यारिसनमा चुनाव लक्षित भेला गरेका छन्।

एमालेका नेतासमेत रहेका उद्योगी मोती दुगडको होटल ह्यारिसनमा एमाले महासचिव शंकर पोखरेल र राप्रपा नेताहरूसहित उम्मेदवार र मतदाता भेला भएका थिए।

त्यस्तै सत्ता गठबन्धनका उम्मेदवार र मतदाता कांग्रेस नेता शेखर कोइरालाले आयोजना गरेको चियापानमा सहभागी भएका छन्। बिहीबार हुने राष्ट्रिय सभाको निर्वाचनको प्रचारप्रसार अवधि सकिएपछि पनि दुवै पक्षले यस्तो गतिविधि जारी राखेका हुन्।

कोइरालाले राखेको चियापानमा महामन्त्री गगन थापा, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य मीनेन्द्र रिजाल, रामहरि खतिवडा, मीनबहादुर विश्वकर्मा, माओवादी नेताहरू पनि उपस्थित थिए।

राष्ट्रिय सभा चुनावमा सत्ता गठबन्धनका तर्फबाट कोशीमा अन्यतर्फ कांग्रेस नेता कृष्णप्रसाद सिटौला र महिलातर्फ माओवादी केन्द्रकी चम्पादेवी कार्की उम्मेदवार छन्।

एमाले–राप्रपा गठबन्धनबाट अन्य कोटामा राप्रपाका उद्धव पौडेल र महिलामा एमालेकी रुक्मिणी कोइराला उम्मेदवार छन्।

प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्ने राष्ट्रियसभा निर्वाचनमा कोशीमा ३६७ मतदाता छन्।

९३ जना प्रदेशसभा सदस्य र १३७ पालिकाका प्रमुख र उपप्रमुख गरी २७४ जना छन्। प्रदेशसभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रमुख तथा उपप्रमुखको मतभार १९ छ।

९३ सदस्यीय प्रदेशसभामा एमालेका ४० सांसद  छन्। कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन्।

कोशीमा कांग्रेसका प्रमुख/उपप्रमुख ११३, एमालेका ११२, माओवादी केन्द्रका ३१, एकीकृत नेकपा समाजवादीका ७, जनता समाजवादी र राप्रपाका ४–४ र स्वतन्त्र ३ जना छन्।

कोशी प्रदेशमा प्रदेश र स्थानीय तहमा गरी एमालेको मतभार ४२४८, कांग्रेसको ३६८४, माओवादी केन्द्रको १२७८, राप्रपाको ३९४, नेकपा एकीकृत समाजवादीको ३४५, जसपाको १२९ र स्वतन्त्रको ५७ मतभार  छ।

कोशीमा राप्रपा र एमाले मिलेपछि गठबन्धनसँगको मतभार अन्तर ७९४ मा झरेको छ। सत्ता गठबन्धनसँग ५४३६ मतभार छ। एमाले र राप्रपाको मतभार ४६४२ छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here