जालसाजी गरेर ठग्ने छुट दिन नसकिने : गृहमन्त्री

41

पाोखरा । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कुनै पनि दबाब, प्रभावमा कसैलाई पनि जालसाजी गरेर ठग्ने, अपराध गर्ने छुट दिन नसकिने बताएका छन् ।
कर्मचारीदेखि उद्योगी व्यवसायीले अपराध गर्छ र कारबाही गर्न सुरु गर्‍यो भने वक्तव्य र दबाब सुरु हुने गृहमन्त्रीले श्रेष्ठले बताएका छन् ।

सरकारी जग्गा हिनामिना गरेको आरोपमा व्यवसायी अरुण चौधरीलगायत पक्राउ परेपछि नेपाल उद्योग वाणिज्य महासंघलगायत निजी क्षेत्रले निकालेको वक्तव्यप्रतिलक्षित गर्दै गृहमन्त्री श्रेष्ठले कसैलाई पनि जालसाजी गरेर ठग्ने छुट दिन नसकिने बताएका हुन् ।

पोखरामा शुक्रबारबाट सुरु भएको प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सम्वोधन गर्दै श्रेष्ठले कर्मचारी र सबै सुरक्षा निकायलाई कुनै पनि दबाब र भयरहित भएर दृढतापूवर्क उभिन निर्देशन दिए ।

‘उच्च पदस्थ कर्मचारीले आवाज निकाल्न थाल्छ, कर्मचारीलाई त यसो गर्न भएन नि भनेर,’ गृहमन्त्री श्रेष्ठले भने, ‘उद्योग व्यवसायीहरु पनि गल्ती अपराध गर्छन् र कारबाही गर्न थाल्यो भने बक्तव्यबाजी सुरु हुन्छ, दबाब सुरु हुन्छ। उद्योग व्यवसायीलाई त गर्न भएन नि, हामीले कर तिर्‍याछौं भन्ने ।’

निजी क्षेत्रको सहयोगबिना देशको अर्थतन्त्र सकारात्म दिशामा जान नसक्ने भनेर आफूहरुले निजी क्षेत्रलाई भनिरहेको श्रेष्ठले बताए । तर, कर तिरेको छु भनेर कसैलाई पनि अपराध गर्ने छुट नभएको श्रेष्ठको भनाइ थियो ।

‘निजी क्षेत्रलाई पनि हामीले भनेकै छौं त, निजी क्षेत्रको सहयोग बिना, साथबिना नेपालको अर्थतन्त्रलाई सकरात्मक दिशामा लैजान सकिन्नँ । तर, कसैलाई पनि राज्यलाई लुट्ने छुट दिन सकिन्नँ । कसैलाई पनि अपराध गर्ने छुट दिन सकिन्नँ,’ श्रेष्ठले भने, ‘यसप्रकारको दबाब र हस्तक्षेप भइरहने हो भने हामीले हाम्रो देशलाई फेर्न पनि सकिन्नँ । त्यसैकारण म राष्ट्रसेवक कर्मचारीहरु र सुरक्षा निकायका सबै साथीहरुलाई भन्न चाहान्छु, तपाईंहरु दृढतापूवर्कक उभिनुस् ।’

संविधान कार्यान्वयन गर्न, ऐन कार्यान्वयन गर्न, लोकतन्त्रको प्रत्याभूति व्यवहारमा जनतालाई दिन कर्तव्य निर्वाह गर्न उनले कर्मचारी र सुरक्षा निकायलाई निर्देशन दिए । कुनै पनि अवान्चित हस्तक्षेपबाट भयवित हुनुनपर्ने श्रेष्ठको भनाइ थियो ।

सम्पन्नशाली, पहुँचवाला, सत्ताको भागीदार वा सत्तासँग पहुँच भएका राजनीतिक नेताहरु र कर्मचारीहरुको संलग्नता वा उनीहरुलाई प्रयोग गरेर हुने जालसाजी, कीर्ते, ठगी र राज्यको लुटलाई कुनै पनि हालतमा छुट नदिइने श्रेष्ठले दाबी गरे ।

‘आज हामी जुन अवस्थामा छौं, कुनै पनि हालतमा यथास्थितिमा राख्न सकिन्नँ । यत्रो सम्भावना हुँदाहुँदै हामीले हाम्रो देश किन पछाडि पर्‍यो ?’ श्रेष्ठले भने, ‘आज ३० लाखभन्दा बढी नेपाली युवा अदक्ष मजदुरका रुपमा खाडी मुलुक र मलेसियामा छन् । यस्तो स्थिति किन उत्पन्न भइरह्यो ? आत्मसमीक्षा गर्नुपर्ने बेला छ ।’

सूशासनको अभाव देशको एउटा समस्या भएको उनको भनाइ थियो । भ्रस्टाचारको प्रभावकारी नियन्त्रणसहित सुशासन कायम गरिएन भने जतिसुकै कुरा गरे पनि समृद्धिले फड्को मार्न नसक्ने श्रेष्ठले बताए ।

सुशासन आजको समृद्धिको अभियानका निम्ति पूर्व सर्त भएको र त्यसपछिमात्रै सामाजिक न्यायलाई स्थापित गर्न सक्ने श्रेष्ठको भनाइ थियो । ‘हामी ठूलाबडाका निम्तिमात्रै सेवामा जान थाल्यौं भने हाम्रो अगाडिको सोफा, अफिसको कुर्चीमा गरिब, श्रमजीवी, असहाय भनिएका व्यक्तिहरुले बस्ने आँट नगर्दासम्म लोकतन्त्रको कुनै अर्थ हुँदैन,’ श्रेष्ठले भने, ‘हामी नै ठूलाबडा पहुँच भएका, पैसा भएकाहरुकै परिवरी हुन्छौं भने हामीले यो लोकतन्त्रबाट जनताले अपेक्षा गरेको कर्तव्य पूरा नगरेको ठहरिन्छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here