नेपालमा १ सय ३२ भन्दा भाषा रहेकाले संरक्षण गर्नुपर्छ : कुलपति भूपाल राई

33

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा एक वर्ष प्राज्ञिक जिम्मेवारी फर्केर हेर्दा कार्यक्रममा उहाँले अन्य क्षेत्रका तुलनामा कला, साहित्य क्षेत्रलाई कम प्राथमिकतामा राखेको जनाउनुभएको हो । उहाँले कला, साहित्यको उन्नयनका लागि कम बजेट छुट्याएको जिकिर गर्दै समानुपातिक, समावेशी ढङ्गबाट राज्यका हर क्षेत्रमा बजेटको बाँडफाँट हुनुपर्ने जनाउनुभयो । उहाँले यसका लागि सबै सरोकारवाला निकायले सम्बन्धित क्षेत्रमा गई ढोका ढकढकाउनुपर्ने विचार राख्नुभयो ।

प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले संस्कृतिकर्मीले राम्रा पक्षको अनुसरण गर्नुपर्ने र कमीकमजोरीको समीक्षा गर्दै सुधार गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले राज्यका हरेक तह र तप्काका मानिसलाई प्रज्ञा–प्रतिष्ठानका काम र कर्तव्यबारे जानकारी हुनुपर्ने र गराउनुपर्ने जनाउनुभयो । राईले नेपालमा १३२ भन्दा धेरै भाषा रहेको जनाउँदै त्यसको संरक्षण गर्नुपर्ने विषयलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने जनाउनुभयो ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ ले प्रतिष्ठानका एक वर्र्षे समयावधिका गतिविधिलाई प्रस्तुत गर्नुभयो । नेपालको सांस्कृतिक क्षेत्रलाई समृद्ध बनाउन समन्वय गर्दै अघि बढ्ने विचार थुम्केलीले राख्नुभयो । साथै उहाँले ललितकलाको संरक्षण, संवर्धन एवं प्रवर्धन गर्दै रैथाने, मौलिक कला र संस्कृतिको उजागर गर्नेतर्फ लाग्नुपर्ने जनाउनुभयो ।

कलामा मौलिकता एवं सिर्जनात्मकता भरी कलालाई व्यावसायीकरण गर्र्दै रोजगारी सिर्जना गर्ने र अर्थतन्त्रमा योगदान दिने लक्ष्यका साथ ललितकला प्रज्ञा–प्रतिष्ठानले कलामा पुनर्जागरणको अभियान चलाएको उहाँले बताउनुभयो । थुम्केलीले प्रादेशिक ललितकला प्रदर्शनी, प्रतिष्ठान र देशका सातै प्रदेशका विभिन्न ठाउँमा भएका ललितकला सम्बद्ध गोष्ठी, अन्तर्क्रिया, कला कार्यशाला, प्रदर्शनी, विभिन्न सङ्घ संस्था, विश्वविद्यालय, प्रदेश एवं स्थानीय स्तरका प्रज्ञा–प्रतिष्ठान, स्थानीय तहबिच भएको सम्झौता एवं सहकार्यलाई ललितकलाको उन्नयनको पुनर्जागरणका रूपमा हेरिएको जनाउनुभयो ।

उहाँले किराँत वास्तुकला, नेपाली अर्थतन्त्रमा ललितकलाको योगदान, नेपालका लोककला, हस्तकला, परम्परागत कला जस्ता विषयमा अध्ययन अनुसन्धानको प्रक्रिया अघि बढेको र ललितकलाको खोज, अध्ययन, अनुसन्धानका लागि अर्धवार्षिक जर्नल ललितकला प्रज्ञा प्रकाशन सुरु गरिएको जनाउनुभयो । प्रतिष्ठानले नेपालको मौलिक रैथाने संस्कृति तथा शिल्पज्ञानलाई अगाडि बढाउने गरी कार्यक्रम गरिरहेको जनाउनुभयो । उहाँका अनुसार नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले देशका सातै प्रदेशमा कलाको सञ्चार गरिरहेको र यसको बहुआयामिक पक्षका बारेमा बहस गर्दै अगाडि बढ्ने लक्ष्य लिएको जनाउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here