१४ वर्षीया बालिकाको हत्यामा संलग्न भएको आरोपमा तीन पक्राउ

74

चितवन । पूर्वी चितवनको रत्ननगरमा अघिल्लो हप्ता १४ वर्षीया बालिकाको हत्यामा संलग्न भएको आरोपमा तीन जना पक्राउ परेका छन्। चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतनको होस्टेलमा शालिन पोखरेल मृत फेला परेपछि चितवन प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।

सालिनको मृत्यु भएपछि आफन्तले दिएको किटानी जाहेरी अनुसार प्रधानाध्यापक बालहरि देवकोटा, सहप्रधानाध्यापक किरणबहादुर अधिकारी र होस्टेलका वार्डेन कमल शर्मा पौडेललाई पक्राउ गरिएको हो। अदालतको अनुमति लिएर पक्राउ परेका उनीहरुमाथि ज्यानसम्बन्धी कसुरमा जाहेरी दर्ता गरेर अनुसन्धान भइरहेको छ।

आफन्तले शालिनको आत्महत्या नभई हत्या भएको दाबी गर्दै उजुरी दर्ता गराएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी श्रीराम भण्डारीले पक्राउ परेकाहरुलाई अदालतबाट सात दिनको म्याद लिएर अनुसन्धान भइरहेको जानकारी दिए।

अघिल्लो साताको शनिबार रत्ननगरमा विद्यालयको छात्रावासमा सालिन मृत अवस्थामा फेला परेकी थिइन्।  रत्ननगर १० स्थित एकता शिशु निकेतनमा सँगै रहेका साथीहरु खान खान गएर फर्किंदा १४ वर्षीय छात्रा सालिन पोखरेल मृत अवस्थामा फेला परेकी थिइन्। साथीहरु फर्किएपछि ढोका खोलेर हेर्दा उनी झुण्डिएको अवस्थामा फेला परेको विद्यालयले जनाएको छ।

झुण्डिएको अवस्थामा प्रहरीले शव बरामद गरेर पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाएको छ। घटनाको शंकास्पद रहेको र प्रहरीले सुरुवाती चरणमा अनुसन्धान गर्न बेवास्था गरेको भन्दै परिवारले चितवनमा पोष्टमार्टममा गर्न नदिइ  काठमाडौं स्थित त्रिभुवन शिक्षण अस्पतालमा पोष्टमार्टम गर्न पठाउन माग गरेका थिए। त्यसपश्चात प्रहरीले शवलाई काठमाडौंमा  पोष्टमार्टम गर्न पठाइएको छ। तर त्यसको रिपोर्ट आउन बाँकी रहेको चितवन प्रहरीले जनाएको छ।

अनुसन्धान जारी रहेको र पोष्टमार्टमको रिपोर्टपछि घटनाबारे बताउन सक्ने डीएसपी भण्डारीले बताए। मृतकका अभिभावकले हत्या भएको आशंका गरेका छन्। उनका बुवाले घटना सुनियोजित भएको दावी गरे।

गोरखाको अजिरकोट गाउँपालिका–५ मुच्चोक घर भएकी शालिन दुई वर्षदेखि सो होस्टलमा बसेर पढ्दै आएकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here