राष्ट्रियसभामा निर्वाचित १९ सांसदले लिए शपथ

38

काठमाडौं । राष्ट्रियसभामा निर्वाचित १९ सांसद्ले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।गत माघ ११ गते सम्पन्न चुनावबाट निर्वाचित भएका १९ सांसदहरूले आज बिहान साढे ११ बजे पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

निर्वाचित सांसद्हरूलाई नयाँ बानेश्वरस्थित संसद् भवनमा सङ्घीय संसद् सचिवालयद्वारा आज आयोजित समारोहमा सभाका उपाध्यक्ष उर्मिला अर्यालले उनीहरूलाई शपथ ग्रहण गराएकी हुन् ।

सो अवसरमा उपाध्यक्ष अर्यालले नयाँ सदस्यलाई सभाको प्रतिक चिन्ह लगाइदिइन् भने सचिवालयका कर्मचारीले अध्ययन सामग्री वितरण गरे । उक्त समारोहमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थिति थियो ।

राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनासहित २० सांसदको पदावधि आइतबार राति १२ बजे सकिएको थियो । सोही पदका लागि गत माघ ११ गते निर्वाचन भएको थियो ।

पदावधि सकिनेमा नेकपा एमालेका ८, नेपाली कांग्रेसका ४, नेकपमा माओवादी केन्द्रका ३, नेकपा एकीकृत समाजवादीका २ र जनता समाजवादी पार्टी९जसपा०, मनोनीत र स्वतन्त्र एकरएक जना छन् ।

यी रिक्त स्थानका लागि माघ ११ गते सातै प्रदेशमा निर्वाचन भएको थियो। कोशी प्रदेशको एक सिटबाहेक अरूतिर गठबन्धनका उम्मेदवार विजयी भएका थिए ।

कोशी प्रदेशबाट अन्यमा कांग्रेसका कृष्ण सिटौला र महिलामा एमालेकी रूक्मिणी कोइराला विजयी भएका छन् । मधेसबाट महिला कोटामा जसपाकी पूजा चौधरी र अन्यमा कांग्रेसका आनन्द ढुंगाना विजयी भएका छन् ।

बागमतीमा कांग्रेसबाट विष्णुदेवी पुडासैनी र जीतजंग बस्नेत, माओवादीबाट श्रीकृष्णप्रसाद अधिकारी र एकीकृत समाजवादीबाट घनश्याम रिजाल विजयी भएका हुन् । गण्डकीबाट माओवादीका मनरूपा शर्मा तथा कांग्रेसका पदमबहादुर परियार र किरणबाबु श्रेष्ठ विजयी भएका छन् ।

लुम्बिनीमा कांग्रेसबाट विष्णुकुमारी सापकोटा र माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी विजयी भएका हुन् । कर्णालीमा एकीकृत समाजवादीकी सावित्री मल्ल, माओवादीका विष्णुबहादुर विश्वकर्मा र कांग्रेसका कृष्णबहादुर रोकाय निर्वाचित भएका छन् भने सुदूरपश्चिममा कांग्रेसका बलदेव बोहोरा र नारायणदत्त भट्ट तथा माओवादीका रेणु चन्दले चुनाव जितेका छन् ।

यसबाहेक मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने कोटा भने पूर्ति भइसकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here