काठमाडौं। समकालीन विश्व फुटबलका महान खेलाडीमध्ये एक हुन्, क्रिस्टियानो रोनाल्डो । यी पोर्चुगिज स्टारले इङ्ल्यान्ड, स्पेन र इटालीका चर्चित क्लबबाट व्यवसायिक फुटबल खेलेर महत्वपूर्ण उपलब्धि हासिल गरिसकेका छन् । ३९ वर्षीय रोनाल्डोले इङ्लिस क्लब म्यानचेस्टर युनाइटेड, स्पेनिस क्लब रियल म्याड्रिड र इटालियन क्लब युभेन्ट्सलाई घरेलु लिगको उपाधि समेत चुमाइसकेका छन् ।
हाल उनी साउदी अरेबियाको ब्यवसायिक लिग खेल्छन् । उनी सन् २०२३ मा साउदी क्लब अल नासरमा आबद्ध भएका हुन् । तर, रोनाल्डोले हालसम्म अल नासरलाई घरेलु लिगको उपाधि भने चुमाउन सकेका छैनन् । तर, उनका छोरा क्रिस्टियानो रोनाल्डो जुनियरले भने आफ्ना पिताभन्दा पहिले नै साउदी अरेबियाको ब्यवसायिक लिगमा उमेर समूहको उपाधि जितिसकेका छन् । रोनाल्डोका छोराले अल नासरको जुनियर टोलीलाई यू–१३ लिगको उपाधि जिताएका हुन् ।

















