काभ्रे । सत्ता घटक नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नयाँ गठित गठबन्धनका विषयमा धेरै प्रश्नहरु उठिरहेको टिप्पणी गरेका छन् । शनिबार काभ्रेको बनेपामा आयोजित पार्टीको १० औं जिल्ला अधिवेशनलाई सम्बोधनलाई गर्दै उनले नयाँ गठित गठबन्धनका विषयमा धेरै प्रश्नहरु उठिरहेकोमध्ये पनि अहिलेको गठबन्धन कहिलेसम्म टिक्ने भन्ने प्रश्न धेरैको रहेको जनाए ।
‘यो गठबन्धन र यसमा सामिल रहेका दलहरु कहिलेसम्म रहिरहन्छन् भन्ने गम्भीर प्रश्न खडा भएको छ,’ अध्यक्ष नेपालले भने, ‘रातारात गठबन्धन परिवर्तन गर्ने आवश्यकता किन पर्यो ? नेपालको राजनीतिमा एकीकृत समाजवादी पार्टीको कुनै औचित्य छ कि छैन ? कुनै भूमिका, महत्व छ कि छैन ? भूमिका निर्वाह गरिरहेको छ भने के कारणले गरिरहेको छ ? नेपालको कम्युनिष्ट आन्दोलन साना–साना टुक्रामा विभाजित भइरहने नै हो, के नेपालका कम्युनिष्टहरु मिलेर जान सक्दैनन् भन्ने लगायतका प्रश्नहरु उठिरहेका छन् ।’
पुराना कुराहरुलाई भुलेर नयाँ ढंगबाट अघि बढौं भनेर गठबन्धनमा सहभागी भएको उनको भनाइ थियो । देशमा स्थिरता कायम गर्ने, देश फेरी चुनावमा नजओस् भन्ने कुरालाई पनि स्वीकारेर हामी नयाँ गठबन्धनसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको बताए ।
गठबन्धनमा अघि बढ्दै गर्दा साझा कार्यक्रम तयार गर्नुपर्ने बताउँदै उनले भने, ‘विचारमा हाम्रो मेल हुनुपर्यो, नितिमा सहमति हुनुपर्यो, कार्यक्रममा एकै धारणा हुनुपर्यो, भन्ने विषयमा दस्तावेज निर्माण गर्ने विषयमा सहमति भएको छ ।’ उनका अनुसार, अहिलेको सरकारले बेथिति, भष्ट्रचार नियन्त्रणलाई प्राथमिकतामा राखेको छ ।

















