काठमाडौं । किसानले भुक्तानी पाउने भन्दा बढी मूल्य बराबरको दुध मौज्दात हुँदा दुध किसानको भुक्तानी गर्न नसकिएको सरकारले जनाएको छ ।
मुलुकभरका दुध उत्पादक किसानहरुले उत्पादन गरेको दुध संकलन भएपनि बिक्री नहुँदा भुक्तानीमा समस्या आएको दुग्ध विकास संस्थानले जनाएको हो । संस्थानले मुलुकभरका दुध वितरण केन्द्रबाट संकलन भएको दुध प्रशोधनपश्चात बिक्री नहुँदा चालु पुँजी र नगद प्रवाहमा समेत समस्या रहेको जनाएको छ ।
काठमाडौं, हेटौँडा, लुम्बिनी, नेपालगञ्ज, विराटनगर, धनगढी र चितवन वितरण आयोजनामा गरी १० लाख १५ हजार ५६५ केजी (१ हजार १५.५ मेट्रिकटन) पाउडर दुध स्टक रहेको दुग्ध विकास संस्थान काठमाडौंका दुग्ध वितरण आयोजना प्रमुख गणेशकुमार यादवले जनाए । उनले पाउडर दुध मात्रै नभएर मखन ७ लाख ६७ हजार १४४ केजी (७ सय ६७.१ मेट्रिक टन) मौज्दात रहेको जनाए ।
दूध खरिद बिक्री र संकलनमा अस्वस्थ प्रतिष्पर्धा हुँदा समस्या आएको बताउनु भयो । उहाँले आयोजनासँग भएका मेसिनहरु जिर्ण भएकले पनि दुध प्रशोधनमा समस्या रहेको जनाए । प्रमुख यादवले किसानलाई भुक्तानी गर्ने रकम भन्दा बढीको दुध मौज्दात हुँदा चालुपँजीको अभाव झेलिरहेको जनाए ।
नानसँग कुरा गर्दै उनले पाउडर दुध र मखनको मौज्दात उच्च रहेकाले नगद प्रवाहमा असर परेको पनि जनाए । राजनीतिक हस्तक्षेपका कारण पनि संस्थानलाई चुनौती रहेको जनाए । आयोजनासँग डेढ लाख लिटर क्षमताको दुध भण्डारण गर्नसक्ने क्षमता रहेको जनाए । ३ सय मेट्रिक टन मखन भण्डारण गर्नसक्ने क्षमता र ४ सय मेट्रिक टन पाउडर दुध भण्डारणको क्षमता रहेको जनाए ।
काठमाडौं दुग्ध वितरण आयोजनाको प्रशोधन क्षमता प्रतिघण्टा १५ हजार लिटर रहेको छ । दूध संकलनको कार्य क्षेत्र काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, धादिङ, रसुवा र चितवन हुन् । २०६ सहकारी संस्था आवद्ध भएर १ लाख घरधुरीबाट दुध संकलन गरिने गरेको आयोजनाले जनाएको छ । औसत दुध संकलन ६५ देखि ७० हजार लिटर छ । सुख्खा सिजनमा ४० देखि ४५ हजार लिटर हुन्छ । दैनिक करिव ७० हजार लिटर दुध बिक्री हुने गरेको छ ।


















