काठमाडौं । सरकारले संघीयता कार्यान्वयनका लागि १ सय १७ वटा कानुन बनाउने भनी विषय पहिचान गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका अनुसार पहिचान भएका विषयको विधेयकको मस्यौदा कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले अध्ययन गरिसकेको छ ।
शुक्रबार राष्ट्रिय सभामा संघीयता कार्यान्वयनसँग सम्बन्धित विषयमाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिंदै प्रधानमन्त्री प्रचण्डले पहिचान गरिएका ११७ वटा विधेयकको मस्यौदामध्ये २१ वटा विधेयक पेश हुने क्रममा रहेको जानकारी दिए ।
१ सय १७ मध्ये मन्त्रिपरिषद् कार्यालय र कानुन मन्त्रालयमा रहेका बाहेकका विधेयकका मस्यौदालाई सम्बन्धित मन्त्रालयले अन्तिम रूप दिने काम गरिरहेको छ । प्रधानमन्त्री प्रचण्डका अनुसार विधेयकहरू प्राथमिकताका आधारमा संघीय संसद्मा दर्ता हुनेछन् ।
प्रहरी समायोजन विधेयक कार्यान्वयनमा अगाडि बढेको, संघीय प्रहरी विधेयकको मस्यौदा अन्तिम चरणमा पुगेको पनि प्रधानमन्त्री प्रचण्डले जानकारी दिए । संघीय निजामती सेवा विधेयक प्रतिनिधि सभामा दर्ता भएको छ । यो विधेयक पनि छिट्टै दुवै सदनबाट पारित हुने प्रधानमन्त्रीले जनाए ।


















