काठमाडौं । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल चीन सिमानामा रहेका १४ वटा परम्परागत सीमा नाका खोल्न चीन सहमत रहेको जनाएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै मन्त्री श्रेष्ठले चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणमा चैत ११ गतेदेखि १९ गतेसम्म भएको चीन भ्रमण सफल भएको जनाएका छन् ।
रसुवागढी नाका, तातोपानी नाका, कोराला नाका यसअघि नै सञ्चालनमा आएका र कोभिड अगाडि सञ्चालनमा रहेको १४ वटा परम्परागत नाका खोल्न चीन तयार भएको मन्त्री श्रेष्ठले जानकारी दिए । यसबाट चीनको सीमानजिक बस्ने नेपालीहरूको दैनिक जीवन तथा व्यापार व्यवसाय सहज हुने अपेक्षा गरेको जनाए ।
मन्त्री श्रेष्ठले भने– ‘नेपाल चीनबिच विद्यमान मैत्री सम्बन्धका विविध आयामहरूमा नियमित रूपमा उच्चस्तरमा छलफल गर्न नेपाल चीन बीचमा परराष्ट्र मन्त्री स्तरमा एउटा संयुक्त आयोग गठन गर्न दुवै पक्ष सकारात्मक भएका छौँ । यस्तै मन्त्रीस्तरको यस्तो आयोग भारतसँग पनि रहेको छ । बीआरआई परियोजनालाई अन्तिम रूप दिनेबारे छलफल भएको छ ।’
मन्त्री श्रेष्ठले सन् २०१६ देखि नेपाल भ्रमणमा आउने चिनियाँ पर्यटकलाई भिसा निःशुल्क गरेको र चीन भ्रमणमा जान चाहने नेपालीलाई पनि भिसा निःशुल्क गर्न माग गरेको उल्लेख गरे । यसमा चिनियाँ पक्षले सकारात्मक प्रतिक्रिया दिएको बताए । साथै चीनले नेपाललाई आगामी दिनमा गुणात्मक सहयोग गर्न प्रतिबद्धता जनाएको जनाए।

















