राखेपको ६०औँ वार्षिकोत्सवमा पाँच खेलाडीसहित १८ जना सम्मानित

8

काठमाडौं । नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ६०औँ वार्षिकोत्सवमा पाँच खेलाडीसहित १८ जना सम्मानित भएका छन् ।

राष्ट्रिय सभागृहमा बुधबार भएको कार्यक्रममा राखेपले विभिन्न ६ विधामा १८ जनालाई सम्मान गरेको हो । सम्मानित हुने खेलाडीमा सिनियर पुरुषतर्फ एथलेटिक्सका दीपक अधिकारी र महिलामा बक्सिङकी सुष्मा तामाङले सर्वोत्कृष्ट खेलाडीको अवार्डसहित एक एक लाख रुपियाँ पुरस्कार पाउनुभयो ।

नवौँ राष्ट्रिय खेलकुदको १० हजार किलोमिटर दौडमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेका दीपक नेपालमै भएको १६औं एसियाली क्रसकन्ट्री एथलेटिक्सका दोहोरो स्वर्ण विजेता हुनुहुन्छ ।

यस्तै सुष्माले थाइल्यान्डको बैंककमा भएको एएसबीसी यु–२२ एसियाली महिला बक्सिङ च्याम्पियनसिपमा रजत जित्दै इतिहास रच्नुभएको थियो ।

नेपाली बक्सिङ खेलाडीले कुनै पनि एसियाली स्तरको बक्सिङमा रजत जितेको अहिलेसम्मकै पहिलो हो । सुष्माले नवौँ राष्ट्रिय खेलकुदको ४८ केजीमा पनि स्वर्ण जित्नुभएको थियो ।

यस्तै जुनियरको पुरुषमा क्रिकेटका अर्जुन कुमाल र महिलामा पौडीकी डुवाना लामाले सर्वोत्कृष्ट खेलाडीको अवार्ड हात पार्नुभयो । दुवैलाई जनही ५० हजार रुपियाँ र ट्रफी प्रदान गरियो ।

नेपाललाई आईसीसी यु–१९ विश्वकपमा छनोट गराउन भूमिका खेल्ने एक मुख्य खेलाडी अर्जुन यु–१९ मा दुई शतक प्रहार गर्ने खेलाडी हुनुहुन्छ । डुवानाले नवौँ राष्ट्रिय खेलकुदमा उत्कृष्ट प्रदर्शन गर्दै नौ स्वर्ण र एक रजत जित्नुभएको थियो ।

पारा एथलिट खेलाडीको अवार्ड पौडीका भीमबहादुर कुमाललाई प्रदान गरियो । गत वर्ष भएको सुरेन्द्र स्मृति पारा पौडी प्रतियोगिताको ५० मिटर फ्रि स्टायलमा भीमले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जित्नुभएको थियो ।

खेल क्षेत्रमा उत्कृष्ट कार्य गरेवापत नवलपरासीको मध्यबिन्दु नगरपालिकालाई उत्कृष्ट स्थानीय तह तथा नेपाल भलिबल सङ्घलाई उत्कृष्ट राष्ट्रिय खेल सङ्घका रुपमा पुरस्कृत गरियो । मध्यबिन्दुका मेयर भीमलाल अधिकारी तथा भलिबल सङ्घका अध्यक्ष जितेन्द्रबहादुर चन्दले अवार्ड ग्रहण गर्नुभएको थियो ।

यस्तै राखेप कर्मचारीको प्रशासनिकतर्फ नायब वरिष्ठ प्रशासकिय अधिकृत भोजानन्द राईले सर्वोत्कृष्ट परिषद् सेवा पुरस्कार, नायब वरिष्ठ प्रशासकीय अधिकृत सुनिलकुमार दाहालले उत्कृष्ट परिषद् सेवा पुरस्कार र नायब वरिष्ठ प्रशासकीय अधिकृत शारदा दाहालले परिषद् सेवा पुरस्कार प्राप्त गर्नुभयो ।

प्रशिक्षणतर्फ नायब वरिष्ठ कुस्ती प्रशिक्षक मुम्ताज अली इद्रिसी सर्वोत्कृष्ट परिषद् सेवा पुरस्कार, क्रिकेट प्रशिक्षक मन्जुर आलम खान उत्कृष्ट परिषद् सेवा पुरस्कार र भलिबल प्रशिक्षक उमादेवी गुरुङ परिषद् सेवा पुरस्कारबाट पुरस्कृत हुनुभयो । सर्वोत्कृष्ट, उत्कृष्ट र परिषद् सेवा पुरस्कारबाट पुरस्कृत हुनेलाई क्रमश: २५ हजार, १५ हजार र १० हजार रुपियाँ पुरस्कारसहित ट्रफी प्रदान गरियो ।

राखेप कर्मचारीतर्फ नै इन्जिनियर सविन महर्जन तथा सहायक बक्सिङ प्रशिक्षक राज श्रेष्ठले करार सेवा पुरस्कार प्राप्त गर्नुभयो । दुवैलाई जनही १० हजार रुपियाँ र  ट्रफी प्रदान गरियो । खेल पत्रकार सम्मानबाट नेपाल टेलिभिजनका दुर्गानाथ सुवेदी (देवेन्द्र) र कान्तिपुर टेलिभिजनकी सविना कार्की सम्मानित हुनुभयो । दुवैलाई ट्रफीसहित जनही २० हजार रुपियाँ पुरस्कार प्रदान गरियो ।

उहाँहरुलाई राखेपका संरक्षक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ, राष्ट्रिय योजना आयोगका सदस्य डा. उमाशङ्कर प्रसाद, राखेपका उपाध्यक्ष शिव कोइराला र राखेपका सदस्य सचिव टङ्कलाल घिसिङले पुरस्कृत गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here