प्रधानमन्त्री र सभामुखद्वारा इद पर्वकाे अवसरमा शुभकामना

27

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले इस्लाम धर्मावलम्बीको महान् पर्व इद (इद–उल–फित्र) का अवसरमा नेपालीबीच आपसी एकता, सहिष्णुता र सद्भाव कायम गरी न्यायपूर्ण तथा समृद्ध समाज निर्माण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् ।

प्रधानमन्त्री दाहालले आज शुभकामना सन्देश जारी गर्दै आपसी सद्भावको चाडका रुपमा मनाइने इदले सबै नेपालीबीच बन्धुत्वको भावना बढाउन, सामाजिक सद्भाव अभिवृद्धि गर्न योगदान पुग्ने तथा राष्ट्रिय एकता, समुन्नत एवं समृद्ध नेपाल निर्माण गर्ने राष्ट्रिय अभियानका साथ प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन् ।

‘बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषतायुक्त नेपाल र नेपाली समाजका निम्ति इदलगायतका पर्व कुनै समुदाय विशेषका मात्र नभएर राष्ट्रिय पर्वका रुपमा स्थापित भएका छन्’, प्रधानमन्त्री दाहालको शुभकामना सन्देशमा उल्लेख छ, ‘हरेक चाडपर्वको आफ्नो ऐतिहासिक र विशिष्ट महत्व हुने गर्दछ, मानव जातिले जीवन वृत्तिका क्रममा प्राप्त गरेका अनुभव, शिक्षा र ज्ञानको समुच्चय प्रक्रियाबाट नै चाडपर्व विकसित र स्थापित हुँदै आएका छन् ।’

नेपालको धार्मिक विविधतालाई समृद्ध तुल्याउन तथा सहिष्णुता एवं सहकार्यको संस्कृतिलाई सवलीकृत तुल्याउन इद पर्वको महत्वपूर्ण भूमिका रहँदै आएको र मान्यजनबाट आशीर्वाद लिने तथा आफ्नो आम्दानीको केही अंश दान गर्नुपर्ने धार्मिक मान्यताले नेपाली समाजलाई सहयोगी तथा मानवीय बन्न उत्प्रेरित गरेको प्रधानमन्त्री दाहालको सन्देशमा उल्लेख छ ।

यसैगरी सभामुख देवराज घिमिरेले भाइचारा र पारिवारिक मिलनको रुपमा मनाइने इद पर्वले राष्ट्र निर्माण, राष्ट्रिय एकता, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र आपसी मित्रतालाई सुदृढ गर्न मद्दत पुगेको जनाएका छन् ।

‘विभिन्न जातजातिले आ–आफ्ना चाडपर्वमा सबै जाति र समुदायको उपस्थितिमा मनाएर धार्मिक–सांस्कृतिक एकतामा अभूतपूर्व नमूना पेस गरेका छन्’, सभामुख घिमिरेको शुभकामना सन्देशमा उल्लेख छ, ‘यसले एक अर्काको सद्भावलाई बढाएको छ, इतिहासदेखि कै नेपाली एकता र विश्वास आगामी दिनमा अझै उचाइमा पुग्ने विश्वास लिएको छु ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here