भोजपुर । सातौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिता वैशाख ९ गतेदेखि १५ गतेसम्म हुने भएको छ । भोजपुर रङ्गशालामा सञ्चालन हुने प्रतियोगितामा ‘ए’ डिभिजनका दुई क्लबसहित आठवटा टोलीको सहभागिता रहने आयोजक भोजपुर जिल्ला फुटबल सङ्घले जनाएको छ ।
प्रतियोगिता सञ्चालनका लागि रु ४९ लाख २५ हजार पाँच सय लागत अनुमान गरिएको भोजपुर जिल्ला फुटबल सङ्घका महासचिव तुफान किराँत बान्तावाले बताए । जसमा भोजपुर नगरपालिकाले विनियोजन गरेको रु ३० लाख र बाँकी रकम प्रायोजकहरुबाट सङ्कलन गरिने उनको भनाइ छ ।
प्रतियोगिताका विजेता तथा उपविजेताले उपाधिसहित क्रमशः नगद रु पाँच लाख र तीन लाख पाउने आयोजकले जनाएको छ । व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षकले पुरस्कार पाउनेछन् ।