कथानक ‘बोक्सीको घर’को दोस्रो श्रृंखला निर्माण हुने

42

काठमाडौं । नेपाली कथानक ‘बोक्सीको घर’को दोस्रो श्रृंखला निर्माण हुने भएको छ । बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा निर्माताले चाँडै दर्शकले नयाँ सिक्वेल हेर्न पाउने जनाए ।

दुई दिनअघि नै हलमा चलिरहेको कथानक चलचित्रमा ‘टु बि कन्टिन्युड’ (निरन्तर रहनेछ) वाक्यांश राखिएको निर्मात्री तथा अभिनेत्री केकी अधिकारीले जनाइन् । ‘चाँडै नयाँ चलचित्र ल्याउने स्रोत र साहस मिलेको छ,’  चलचित्रबारे जानकारी दिन आयोजित प्रेसमिटमा उनले भनिन् ।

निर्देशक सुलक्षण भारतीले दोस्रो श्रृंखलाको स्क्रिप्ट लेखन सकिएको जनाए । ‘स्क्रिप्ट लेखन सकिइसकेको छ,’ भारतीले भने, ‘बीचमा एउटा चलचित्र गरेर मात्र बोक्सीको घर बनाउँछु ।’ उनले अर्को  चलचित्रकाे स्क्रिप्टको काम सकेर मात्र सिक्वेलको काम अघि बढाउने जनाए ।

रिलिज हुँदा ‘कथा निरन्तर हुनेछ’ लेखिएको थिएन । तर निर्माताले केही दिनअघि मात्र थपेर हलमा पठाएका हुन् । यसको अर्थ, सिक्वेल बन्नेछ भनेर दर्शकलाई जानकारी दिइएको हो । प्रेसमिटमा निर्देशक भारतीले दोस्रो श्रृंखलाबारे अहिलेलाई केही नखुलाउने जनाए ।

अभिनेत्री तथा निर्मात्री अधिकारीले ‘बोक्सीको घर’ सुपरहिट हुँदा आफूलाई सपनाजस्तो लागिरहेको जनाएकी छन् । उनले भनिन्, ‘साँच्चै भन्नुहुन्छ भने मलाई सररियल महसुस भइरहेको छ । मलाई हो कि होइन जस्तो लागिरहेको छ ।’

उनले कथावस्तु बलियो हुनुपर्छ भन्ने पाठ यो फिल्मबाट सिकेको बताइन् । ‘हुन त म सहायक निर्मात्री रहेको कोहलपुर एक्सप्रेसबाट यो पाठ सिकेको हुँ । अहिले आएर यो पुष्टि भएको छ कि कथा बलियो हुनुपर्छ,’ केकीले प्रेसमिटमा भनिन् ।

उनले यो चलचित्र हिट हुँदा ऊर्जावान महसुस गरेको जनाइन् । यस्तो चलचित्र चल्दा नयाँ र प्रयोगात्मक चलचित्र बनाउने मेकरलाई ऊर्जा मिलेको समेत उनले जनाइन् ।

‘बोक्सीको घर’ केकीको करिअरकै उत्कृष्ट कमाइ गर्ने चलचित्र हो । यो चलचित्र उनको एकल लगानीको पहिलो फिल्म समेत हो । केकी अधिकारी फिल्म्सको ब्यानरमा यसको निर्माण गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here