हेटौंडा । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मुख्यमन्त्री शालिकराम जम्कट्टेलको अध्यक्षतामा आज बसेको बैठकले प्रदेश सरकारी कामकाजको भाषा ऐन २०८० कार्यान्वयन भएको सन्दर्भमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
प्रधानमन्त्री पुष्पकमल दाहालले वैशाख २४ गते बसन्तपुरमा प्रदेश सरकारी कामकाजको भाषा शुभारम्भ गर्ने उनले बताए। संविधानअनुसार नेपाली भाषासँगै प्रदेशभित्र बहुसंख्यक नागरिकले बोल्ने तामाङ र नेपाल भाषालाई सरकारी कामकाजको भाषा निर्धारण गरी प्रदेश सरकारका निकाय र स्थानीय तहहरुमा लागु गर्ने उनले जनाए।
पहिलो चरणमा सरकारी निकाय र स्थानीय तहको बोर्ड तथा लेटरहेडमा नेपाली भाषासहित तामाङ र नेपाल भाषा उल्लेख गरिने उनले जनाए ।
बैठकले लैंगिक तथा यौनिक अल्पसंख्यकसम्बन्धी नीति २०८१ स्वीकृत गर्दै आर्थिक वर्ष २०७८/०७९ को बाँकी भुक्तानी रकम निकासा समेत स्वीकृत गरेको छ।
त्यस्तै बागमती प्रदेशमा सरकारी तथा सामुदायिक भवन वा कुनै पनि किसिमको भौतिक संरचना निर्माण गर्दा स्वदेशमै उत्पादन भएका काठ अनिवार्य प्रयोग गर्नुपर्ने निर्णय भएको पनि प्रवक्ता श्रेष्ठले बताए। उनका अनुसार प्रदेश श्रम सल्लाहकार परिषद्को गठन गर्ने तथा सशस्त्र प्रहरी बल ३ नं वाहिनीद्वारा गोताखोर तालिम सन्चालन गर्ने विषयमा समेत आज निर्णय भएको छ।
बैठकले विपद् स्वयमसेवक समूह निर्माण तथा परिचालन गर्ने, बागमती प्रदेश सभाको अधिवेशन अन्त्यको लागि सिफारीस गर्ने, नयाँ कार्यालय भवन उद्घाटन गर्न भएको खर्चको लागि जिल्ला अदालत मकवानपुरलाई ५ लाख रकम अख्तियारी दिने निर्णय गरेको छ ।


















