भारतले प्याज निर्यातमा लाग्दै आएको हट्याे प्रतिबन्ध

5

काठमाडौं । भारतले प्याज निर्यातमा लाग्दै आएको प्रतिबन्ध हटाएको छ । तेस्रो चरणको लोकसभा निर्वाचन अघि भारतले पाँच महिनादेखि लगाइँदै आएको प्रतिबन्धलाई पूर्ण रुपमा खुला गरेको हो । यसअघि भारतले छ वटा देशहरुमा निर्यात खुला राखेको थियो भने बाँकी देशहरुमा निर्यात प्रतिबन्ध गरेको थियो ।

भारतले बंगलादेश, यूएई, भुटान, बहराइन, मौरिसस र श्रीलंका कोटा तोकेरै प्याज निर्यात अनुमति दिँदै आएको थियो । प्रतिबन्धको पाँच महिनामा ९९ हजार १ सय ५० मेट्रिक टन प्याज निर्यात गर्न अनुमति दिएको तथ्यांक छ ।

प्याजमा पूर्ण प्रतिबन्ध लगाए पनि भारत सरकारले प्याजको न्यूनतम निर्यात मूल्य (एमईपी) तोक्दै त्यसमा ४० प्रतिशत निर्यात कर लगाउने व्यवस्था गरेको छ । जसअनुसार प्रतिमेट्रिकटन निर्यात मूल्य ५५० अमेरिकी डलर (७३ हजार नेपाली रुपैयाँ) प्रतिमेट्रिकटन तोकेको छ । यसमा ४० प्रतिशतको दरले निर्यात भन्सार शुल्क लाग्ने जनाइएको छ । निर्यात भन्सार शुल्क जोड्ने हो थप ३० रुपैयाँ मूल्य बढ्न जान्छ ।

गत आर्थिक वर्षमा भारत सरकारले २५४.७३ लाख टन हुने अनुमान गरेको थियो जुन अघिल्लो वर्षको ३०२.०८ लाख टनको तुलनामा निकै कम हो । यो महाराष्ट्रमा ३४.३१ लाख टन, कर्नाटकमा ९.९५ लाख टन, आन्ध्र प्रदेशमा ३.५४ लाख टन र राजस्थानमा ३.१२ लाख टन उत्पादन घटेको तथ्याङ्क छ।

त्यही कारणले निर्यातमा रोक लगाउनु परेको सरकारले जनाएको छ । तर महाराष्ट्रका किसानहरुले त्यसको विरोध गरेपछि यसलाई खुला गरिएको हो ।

निर्यात खुला गरिए पनि भन्सार करका कारण नेपालमा प्याज सस्तिने सम्भावना भने देखिँदैन । भारतले तोकेको न्यूनतम निर्यात मूल्य र त्यसमा लाग्ने भन्सारकै कारण भन्सार विन्दुमा मूल्य १०० रुपैयाँ भन्दा बढी हुने देखिन्छ । त्यसका ढुवानी लागत, बिक्रेताको नाफालगायत जोड्दा मूल्य खासै सस्तो नहुने कालीमाटी तरकारी तथा फलफूल विकास समितिका प्रवक्ता विनय श्रेष्ठ बताउँछन् ।

अहिले समितिले गरेको बजार सर्वेक्षण अनुसार भारतीय सुकेको प्याजको मूल्य ५८ देखि ६२ रुपैयाँमात्रै छ । तर अहिले तोकिएको समर्थन मूल्यका आधारमा हेर्दा मूल्य झनै महँगो हुने देखिन्छ ।

बन्द भए पनि अहिले भारतबाट अनौपचारिक रुपमा प्याज आइरहेको बताइन्छ । निर्यात खुला भएर वैधानिक रुपमा प्याज आउन थाल्ने हो भने यसले मूल्य झनै बढाउने सम्भावना रहेको व्यवसायीहरु बताउँछन् ।

सोही कारण निर्यात खुला हुँदा नेपाललाई खासै ठूलो सकारात्मक प्रभाव पर्ने सम्भावना नभएको उनीहरुको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here