काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मी एवम् कर्मचारीलाई बिदा लिएर निजी स्वास्थ्य संस्थामा काम गर्न नजान निर्देशन दिएको छ ।
स्वास्थ्य मन्त्रालयका सचिव मधुसुदन बुर्लाकोटीले प्रतिष्ठान, विभाग, अस्पताल र केन्द्रलाई निर्देशन जारी गर्दै चिकित्सक तथा स्वास्थ्यकर्मीले जुन उद्देश्यका लागि बिदा लिएको हो सोही उद्देश्यअनुसार त्यसको सदुपयोग गर्न आग्रह गरेका छन् ।
‘केही चिकित्सक तथा स्वास्थ्यकर्मी एवम् कर्मचारीले जुन उद्देश्यका लागि बिदा लिएका हुन् सोही अनुसार बिदा उपयोग नगरी निजी स्वास्थ्य संस्थामा, विदेशी स्वास्थ्य संस्था एवम् गैरसरकारी सङ्घ संस्थामा गई कार्य गरेको जानकारी प्राप्त हुन आएकाले त्यस्ता कार्य नगर्नु, नगराउनु हुन अनुरोध गर्दै आ–आफ्नो पदीय मर्यादा, व्यक्तिगत आचरण एवम् पेसागत अनुशासनमा रही कार्य गर्नुहोला’, सचिव बुर्लाकोटीद्वारा जारी निर्देशनमा उल्लेख छ ।
नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ र स्वास्थ्य सेवा नियमावली, २०५५ मा सबै सरकारी कर्मचारीको समय नेपाल सरकारको अधीनमा हुने र बिदा अधिकारको कुरा होइन सहुलियत मात्र हो भन्ने स्पष्ट कानूनी व्यवस्था रहेको उल्लेख गर्दै कर्मचारीले नियमावली अनुसार बिदा लिन पाउने भए पनि जुन उद्देश्यले बिदा लिएको हो सोही प्रयोजनमा उपयोग गर्न उनले आग्रह गरे ।
बिदाको उद्देश्य विपरीत निजी स्वास्थ्य संस्थामा काम गरेको पाइएमा सम्बन्धित निकायले स्वीकृत गरेको बिदा रद्द हुनुको साथै नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ र नेपाल स्वास्थ्य सेवा नियमावली, २०५५ तथा सेवा सञ्चालन सम्बन्धी प्रचलित कानुन बमोजिम हदैसम्मको कारबाही हुने र सोको लागि सम्बन्धित व्यक्ति स्वयम् जिम्मेवार हुनुपर्ने सचिव बुर्लाकोटीले जनाए ।
यस्तै स्वदेशी तथा विदेशी निजी संस्थाले सरकारी चिकित्सक, स्वास्थ्यकर्मी एवम् कर्मचारीले त्यस्तो कार्य भए गरेको देखिएमा मन्त्रालयमा जानकारी गराउनसमेत आग्रह गरिएको छ ।


















